सुर्खेतस्थित भेरी नदीमा एक जना युवकको शव फेला परेको छ।
मंगलबार बेलुकी पौने ६ बजेतिर बराहताल गाउँपालिका – ४ घुमाउनेस्थित भेरी नदीमा अन्दाजी २५ वर्षका एक युवक मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार आवश्यक प्रक्रिया पूरा गरी नदीमा फेला परेको ती युवकको शव राति ११ बजेतिर पोस्टमर्टमका लागि कर्णाली प्रादेशिक अस्पता सुर्खेत कालागाउँमा पुर्याइएको थियो।
सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीले सुर्खेतमा मृत अवस्थामा फेला परेका युवक केही दिन पहिले गाडीसहित भेरी नदीमा खसेका युवा हुन सक्ने बताए।
सोही आशंकाका साथ परिवारका सदस्य शव सनाखतका लागि सुर्खेत गएको डिएसपी पातलीले जानकारी दिए ।
साउन २७ गते दिउँसो साढे १ बजेतिर सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट चालक सहित चार जना सवार लु १ ज ३०२२ नम्बरको जिप अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको थियो।
त्यसमा परी चालक जिल्लाकै कुमाख गाउँपालिका– ५ का अन्दाजी २३ वर्षीय हेमराज बिसी र सिद्धकुमाख गाउँपालिका–४ का २० वर्षीय भीमबहादुर राना गाडीसँगै नदीमा खसेर बेपत्ता भएका थिए।
बेत्तपा गाडी र हराइ रहेका मानिसहरु खोज्न लगातार तीन दिन सशस्त्र प्रहरीको गोताखोरले खोजी गरे पनि फेला नपारे पछि खोजी बन्द गरिएको थियो।