सुर्खेतस्थित भेरी नदीमा फेला परेको शवको सनाखत भएको छ।
मंगलबार बेलुकी पौने ६ बजेतिर बराहताल गाउँपालिका– ४ घुमाउनेस्थित भेरी नदीमा फेला परेको शव सल्यानस्थित भेरी नदीमा गाडीसहित खसेर बेपत्ता भएका चालक २३ वर्षीय हेमराज बिसीको भएको पुष्टि भएको हो।
सल्यानको कुमाख गाउँपालिका–५ बाट सुर्खेत गएर घर परिवारका सदस्यले बिसीको शवको सनाखत गरेको सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीले सेतोपाटीलाई बताए।
साउन २७ गते दिउँसो साढे १ बजेतिर सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट चालक सहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको थियो। त्यो दुर्घटनामा परि चालक बिसीसहित बेपत्ता सिद्धकुमाख गाउँपालिका–४ का २० वर्षीय भीमबहादुर राना भने अझै फेला परेका छैनन्। बेपत्ता भीमबहादुर गाडी धनीका छोरा हुन्।
बेपत्ताहरूको खोजीका लागि यसअघि लगातार तीन दिन सशस्त्र प्रहरीको गोताखोरको टोलीले खोजी गरे पनि फेला पार्न सकेको थिएन। त्यस बीचमा लगातार भारी वर्षा पनि जारी रहेको हुँदा खोजी रोकिएको थियो।
उक्त दुर्घटनाका थप दुई जना वनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकीले पौडिएर ज्यान जोगाउन सफल भएका थिए।