पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग निष्क्रिय पार्ने संसद सचिवालयका तत्कालीन महासचिव भरतमणि गौतमको पत्र विरूद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ।
बुधबार संवैधानिक इजालासमा यस रिटमा बहस भएको हो।
बहस नसकिएपछि भदौ १० गतेका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
इजलासमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, टिकाराम भट्टराई, शम्भु थापा, हरिहर दाहाल लगायतले बहस गरेका थिए।
२०७९ मंसिर २१ गते तत्कालीन महासचिव गौतमले पूर्वप्रधानन्यायाधीश जबरामाथि लगाइएको महाअभियोगको प्रस्ताव निष्क्रिय भएको भन्दै पत्र लेखेका थिए।
यो पत्र पछि राणाले सर्वोच्च अदालत जाने तयारी गरेका थिए। नेपाल बार र सर्वोच्च बारले उनलाई रोक्न तत्कालै धर्ना दिएका थिए। सरकारले पनि राणाको महाअभियोग अर्को प्रतिनिधि सभाले हेर्ने र निलम्बन निरन्तर रहेको भन्ने धारणा व्यक्त गरेपछि राणा सर्वोच्च जान सकेका थिएनन्।
राणा सर्वोच्च आउन खोजेपछि सर्वोच्चबारका पदाधिकारीले उक्त पत्र खारेज गर्न माग गर्दै संवैधानिक इजलासमा रिट दायर गरेका थिए।