अमेरिकी सेनाले इरानलाई छलेर स्ट्रेट अफ हर्मुजबाट हरेक दिन ठूलो परिणाममा तेल पैठारी गरिरहेको खुलेको छ।
पछिल्ला केही हप्तादेखि अमेरिकी सेनाले हरेक राति १५ देखि २० वटा तेल बोकेका पानीजहाज ओमानको छेउ हुँदै हर्मुजबाट पठाइरहेको भनेर दुई अमेरिकी अधिकारीको हवाला दिंदै अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
अमेरिका र इसराइलले फेब्रुअरीमा इरानमाथि आक्रमण गर्नुअघि विश्वको करिब २० प्रतिशत तेल र ग्यास हर्मुज हुँदै पैठारी हुने गर्थ्यो।
आफूमाथि आक्रमण भएपछि इरानले अहिले हर्मुज बन्द गरेको छ।
तर केही हप्तादेखि अमेरिकी सेनाको सहयोगमा युद्ध सुरू हुनुअघि जति पैठारी हुन्थ्यो त्यसको झण्डै आधा परिमाण अथवा दैनिक करिब एक करोड ब्यारेल तेल हर्मुजबाट पैठारी भइरहेको ती अधिकारीहरूले दाबी गरेका छन्।
'हामीले विगत दुई महिनादेखि हर्मुजको दक्षिणी मार्ग नियन्त्रण गरिरहेका छौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले केही झन्झट उत्पन्न गराउन सक्छ, तर उनीहरूको हर्मुजमा नियन्त्रण छैन। नियन्त्रण हाम्रो छ,' एक अमेरिकी अधिकारीले एक्सियसलाई भने।
अमेरिका र इरानबीच जुन महिनामा भएको अन्तरिम सम्झौताले ‘सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्य’ घोषणा गरेको थियो। तर अन्तरिम सम्झौता असफल भयो।
ट्रम्पले जुलाई ७ मा नै सो अन्तरिम सम्झौता समाप्त भयो भनेका थिए। इरानको परराष्ट्र मन्त्रालयले भने त्यसको एक साता पछि यसलाई निलम्बन गरिएको घोषणा गर्यो।
उक्त समझदारी पत्र (एमओयू) अन्तर्गत, इरान र अमेरिका पारस्परिक सहमतिको आधारमा बढीमा ६० दिनभित्र इरानको आणविक कार्यक्रमको भविष्यजस्ता फराकिला मुद्दाहरू समेट्ने अन्तिम सम्झौता गर्न प्रतिबद्ध भएका थिए। एमओयू हस्ताक्षर भएको ६० दिन पुगिसकेको छ।
अन्तिम सम्झौता नहुने भएपछि अमेरिकाले इरानलाई छलेर हर्मुजबाट तेल पैठारी गर्न सहयोग गर्न थालेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)