दाङमा बिहीबार दिउँसो यात्रुबाहक गाडीको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ।
स्कुटर चालक घाइते छन्।
अर्घाखाँचीको शितगंगा नगरपालिका– ८ लापेकी ३२ वर्षीया सम्झना केसीको उपचारका क्रममा भालुवाङ आधारभूत अस्पतामा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेका अनुसार स्कुटी चालक शितगंगा– ८ कै २० वर्षीय अभिषेक कुमाल गम्भीर घाइते छन्।
भालुवाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई बुटवलका लागि रिफर गरिएको प्रहरी निरीक्षक न्यौपानेले सेतोपाटीलाई बताए।
बिहीबार दिउँसो पौने २ बजेतिर कपिलवस्तुको कृष्णनगरबाट आई भालुवाङ हुँदै प्युठानतर्फ जान थालेको लु.प्र. ०२–००१ ज ०१०८ नम्बरको गाडीले राप्ती गाउँपालिका–१ पुरानो बजार भालुवाङस्थित पेट्रोल पम्प अगाडि रा ४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
गाडी चालक प्रहरी नियन्त्रणमा छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।