जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार बेलुका साढे ६ बजेतिर नलगार्ड – ७ दाने पिपलमा लु १ च ८२२७ नम्बरको यात्रुबहाक जिप अनियन्त्रित भइ सडकबाट करिब १५ मिटर तल खसेको थियो।
डोल्पा – जाजरकोट सडक खण्ड अन्तर्गत नलगाड– ९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी घाइते भएका नलगाड नगरपालिका – १० का २५ वर्षीय बालकृष्ण बोहराको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर सुधीरकुमार खड्काले जानकारी दिए।
छातीमा गम्भीर चोट खेपेका उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बेलुका नै कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत रिफर गरिएको थियो।
उनको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा थप ६ जना घाइते भएका छन्।
घाइतेहरूमा नलगाड –१० का २६ बर्षीय गणेश ध्यार, सोही ठाउँकै २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते छन्।
घाइते सबैको अवस्था मध्यम रहेको तथा सबै जनाको जिल्ला अस्पतालमा उपचार जारी रहेको इन्स्पेक्टर खड्काले बताए ।
जिपका चालक नलगाड –८ हलचौरका २४ वर्षीय बिनोद विक प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।