सोमालियाको तटमा एउटा हतियार बोकेको कार्गो जहाज नै अपहरणमा परेको छ।
टर्कीमा हतियार लैजाँदै गरेको क्यामरूनको ध्वजाबाहक पानीजहाज एमभी लुटुफ सोमालियाको पन्टल्यान्ड तटमा समुद्री लुटेराहरूको अपहरणमा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इन्डियन एक्स्प्रेसका अनुसार जहाजमा ६ जना भारतीयसहित चालक दलका १० जना सवार थिए। उनीहरू सबैलाई सामुद्रिक लुटेराहरूले बन्धक बनाएको छ।
जहाज सोमबार सोमालियाको पन्टल्यान्ड क्षेत्रको मारेया तटबाट करिब ३.५ नटिकल माइल टाढा समुद्री डाकुहरूले नियन्त्रणमा लिएका थिए।
त्यसपछि जहाजलाई सोमालियाको नुगाल तटतर्फ लगिएको एक सोमाली अधिकारीले अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।
जहाजमा ६ भारतीय नागरिक, एक टर्किस नागरिक, एक जर्जियन नागरिक र दुई सर्बियाली सुरक्षा गार्ड गरी १० जना रहेको पनि एपीले लेखेको छ।
सोमाली अधिकारीका अनुसार जहाज अपहरणमा करिब आठ जना समुद्री लुटेराहरू संलग्न थिए। उनीहरू गत अप्रिलमा अर्को एउटा जहाज अपहरणमा संलग्न समूहकै सदस्य भएको आशंका गरिएको छ।
एमभी लुतुफले टर्कीका हतियार तथा सैन्य सामग्री बोकेको बताइएको छ। ती हतियार सोमालियाको राजधानी मोगादिसुस्थित टर्कीको सैन्य प्रशिक्षण केन्द्रका लागि लगिँदै थियो।
जहाजमा सञ्चार तथा स्याटेलाइट उपकरणसमेत रहेको बताइएको छ।
घटनाबारे टर्कीका अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
शुक्रबार बिहानसम्म भारतको विदेश मन्त्रालयले पनि घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको थिएन।
एमभी लुतुफको पोलार मुभमेन्ट सिपिङको स्वामित्वमा रहेको बताइएको छ। जहाज पछिल्लो पटक पूर्वी अफ्रिकी क्षेत्रमा रहेको पाइएको थियो। यसको लम्बाइ ७६.४३ मिटर र चौडाइ १२ मिटर रहेको छ।
सोमालियाको तटमा समुद्री डकैतीका घटना विगतमा व्यापक भए पनि पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय नौसैनिक गस्ती र सुरक्षा व्यवस्थाका कारण यस्ता घटना उल्लेख्य रूपमा घटेका थिए।
पछिल्लो घटनाले भने सोमालियाको तटमा समुद्री डकैतीको जोखिम फेरि बढेको संकेत गरेको छ।