बाजुरामा पहिरोले पुरेको एउटा गाईको बाच्छो जीवित फेला परेको छ।
गौमुल गाउँपालिका–३ कटीगाउँमा बिहीबार दिउँसो साढे ४ बजेतिर गएको पहिरोले स्थानीयका दुई घर पूर्ण रूपमा नष्ट भएका थिए।
जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले कटीगाउँका ५७ वर्षीय पुणिमल बोहराको ढुंगा, माटोको गाह्रो भएको र ढुंगाकै छानो भएको तीन तले घर र सोही ठाउँकै ३८ वर्षीया बुदी बोहराको ढुंगा, माटोको गारो भएको तथा ढुंगाले छाएको तीन तले घर पूर्ण रूपमा नष्ट भएका थिए।
पहिरोले घर पूर्ण रूपमा नष्ट गरेको हुँदा दुबै घरका अन्न पात, भाडा वर्तन, लत्ता कपडा लगायत पुणिमलले पालेका ३ वटा गाई र बुदीले पालेका २ वटा गाई, एउटा कुखुरा र ७ वटा खरायो पुरिएर बेपत्ता थिए।
अबिरल वर्षाका कारण घर गोठ भत्किँदा पहिरोमा पुरिएर बेपत्ता पशु चौपायाको शुक्रबार बिहान सवा ८ बजेतिर प्रहरी र स्थानीय मिलेर खोजी थालेका थिए।
सोही क्रममा एउटा गाईको बाच्छो बिहान ९ बजेपछि जिउँदै फेला पारिएको प्रहरी निरीक्षक शाहीले बताए।
प्रहरी र स्थानीय मिलेर बेपत्ता वस्तु चौपायाको खोजी गर्ने क्रममा भत्किएको घरको संरचनाले पूरै पुरेको अवस्थामा पहिरो पन्छाएर कालो रङको बाच्छोलाई निकालिएको शाहीले जानकारी दिए।
अर्को एउटा कालो रङको गाईलाई पनि पहिरोले पूरै पुरेको अवस्थामा उद्धार गरिए पनि त्यो भने केहीबेरमै मरेको प्रहरीले जनाएको छ।
पहिरोमा बेपत्ता अन्य पशु चौपायाको खोजी कार्य जारी रहेको शाहीले बताए।
कटीगाँउमा बिहीबार दिउँसो साढे ४ बजेतिर पहिरोले पुर्याएको क्षतिबारे वडाध्यक्ष गोरखबहादुर बोहराले बेलुकी सवा ५ बजेतिर टेलिफोन गरी इलाका प्रहरी कार्यालय गौमुलमा अवगत गराएका थिए।
त्यसपछि खटिएको इप्रका गौमुलबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर शाहुको कमाण्डमा ३ जनाको टोली साढे ९ बजे घटनास्थल पुगेको थियो।
पहिरोका कारण स्थानीय १२ जनाको घरहरू उच्च जोखिममा रहेको पाइएपछि क्षति भएका दुई वटा घरका मानिसहरू समेत गरी १४ घर परिवारका एक सय १५ जना मानिसलाई सुरक्षति स्थान स्थानीय देबेन्द्र धामीको खाली जमिनमा सारिएको थियो।
रातिमा वडा कार्यालयले उनीहरूलाई पानी बाट जोगाउन त्रिपाल उपलब्ध गराएको थियो। त्यसैबाट टहरा निर्माण गरी उनीहरू रातभर खुला आकाशमुनि बास बसेका थिए।