प्रधानमन्त्री बालेन शाह शुक्रबार माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको रिसोर्टमा बास बस्न आउने भएका छन्।
रिसोर्ट स्रोतका अनुसार प्रधानमन्त्री शाह आउने भएपछि अन्य पर्यटकको बुकिङ लिइएको छैन।
रिसोर्ट पुग्ने बाटोमा नेपाली सेनाले चेकजाँच गरिरहेको छ। सेनाले रिसोर्टका सञ्चालक र कर्मचारीबाहेक अन्य व्यक्तिलाई रिसोर्टमा आउजाउ गर्न दिएको छैन। चेकजाँचमा खटिएका नेपाली सेनाका प्रतिनिधिले प्रधानमन्त्री शाहको निजी भ्रमण भएकाले सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्।
अन्नपूर्ण इको रिसोर्टमा बास बसेपछि प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको जनाइएको छ।
यद्यपि, उनको भ्रमणबारे जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीले आफूहरूलाई जानकारी नभएको बताएका छन्।
अस्तामसँगै जोडिएको पोखरा महानगरपालिका–२५, हेमजाका वडा सदस्य कृष्णबहादुर कुँवर प्रधानमन्त्री शाहलाई भेट्ने आशामा अस्ताम पुगेका छन्।
उनले स्थानीय समस्या प्रधानमन्त्रीसमक्ष राख्न पाउने आशा रहेको बताए। तर प्रधानमन्त्री बस्ने भनिएको रिसोर्ट जान खोज्दा नेपाली सेनाले आफूलाई फर्काइदिएको उनले बताए।
‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेर यहाँको समस्या राख्न मन छ, रिसोर्ट जान पाएको छैन,’ उनले भने, ‘उहाँ आइपुगेपछि भेट्न पाइन्छ कि!’