पोखरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार कास्कीको पोखरा महानगरपालिका-१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा त्यसको पछाडि सवार महिलाको मृत्यु भएको हो।
प्रहरीका अनुसार ग २० ६०९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सुरूमा बिजुलीको पोलमा ठोक्किएको थियो।
पोलमा ठोक्किएपछि थप अनियन्त्रित भएको मोटरसाइकल पोखराबाट सारङकोट जाँदै गरेको ग १ ख ४३३५ नम्बरको गुडिरहेको बसमा ठोक्किएको थियो।
मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका-१८ कि २९ वर्षीया रूपा विक गम्भीर घाइते भएकी थिइन्। उनको टाउकोमा चोट लागेको अवस्थामा मणिपाल शिक्षण अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकल चालक पोखरा महानगरपालिका–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र विक पनि घाइते भएका छन्। उनको टाउको र दायाँ कानमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस र बस चालक जिल्ला अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ।