कपिलवस्तु प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस सहित ५ जना महिलालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कृष्ण नगरको टोलीले सोमबार राती गस्ती गर्ने क्रममा कृष्ण नगर नगरपालिका वडा नं. २ पुरानो बसपार्क क्षेत्रबाट १५ किलो भन्दा बढी चरेस र अफिम सहित उनीहरूलाई पक्राउ गरेको हो।
गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका महिलाहरूलाई रोकी चेकजाँच गर्दा तिन जनाबाट ५/५ किलो भन्दा बढी चरेस र अफिम बरामद गरेको थियो।
उनीहरूले पटुकाभित्र चरेस राखेर कम्मरमा बाँधेर भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार पक्राउ पर्नेहरू दाङ, कपिलवस्तु र पर्साका रहेका छन्।
जस अनुसार दाङको राप्ति गाउँपालिका वडा नं. ३ मसुरिया बस्ने ३४ वर्षीया रतिको साथबाट ५ किलो २२५ ग्राम चरेस बरामद भएको छ। रोकाले कम्मरमा कपडामा बेरेर चरेस भारततर्फ लैजाँदै थिइन्।
त्यस्तै कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नं. ४ ज्योतिनगर बस्ने ४५ वर्षीया फनिसरा सारूको साथबाट ५ किलो र ५६ वर्षीया नन्सरी घर्ती मगरको साथबाट ५ किलो अफिम बरामद गरेको हो।
उनीहरूको साथमै रहेका दाङको राप्ति गाउँपालिका वडा नं. ३ मसुरिया बस्ने ४३ वर्षीया विमला पुन र पर्साको ठोरी गाउँपालिका वडा नं. २ टाउन प्लान घर भई हाल कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नं. ४ ज्योतिनगर बस्ने ४८ वर्षीया चुमा लामिछानेको साथबाट केही फेला नपरेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरिएको चरेस र अफिम सहित उनीहरूको साथमा रहेका पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागु औषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
महिलाहरूलाई भरियाको रूपमा प्रयोग गरेर उनीहरूको पछाडि लागुऔषध ओसारपसार तथा कारोबारीको ठुलो सञ्जाल हुन सक्ने भएकोले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।