बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्याका आरोपीले बयान दिएको भिडिओ सार्वजनिक भएपछि प्रहरीले छानबिन सुरू गरेको छ।
सोमबार उक्त भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको हो।
कार्यालयका प्रवक्ता एवं एसएसपी प्रभुप्रसाद ढकालले यसबारे छानबिन भइरहेको जानकारी दिए। ‘त्यस घटनाको भिडिओ कसरी बाहिरियो भन्नेबारे छानबिन भइरहेको छ,’ उनले भने।
यस कार्य कानुन विपरितको भएमा कारबाहीसमेत हुने उनले बताए।
‘भिडिओ कहाँ र कुन ठाउँमा खिचिएको छ भन्नेबारे छानबिन हुँदैछ। कसले खिचेर सामाजिक सञ्जालमा हाल्यो भन्नेबारे पनि अनुसन्धान हुँदैछ। त्यसपछि कानुन विपरित भए जोकोही कारबाहीमा पर्छ,’ उनले भने।
जितपुरसिमरा उपमहानरपालिका-१ दसधुरीकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको अवस्थामा भदौ ३ गते शव फेला परेको थियो। बालिका साउन ३१ गते बेपत्ता भएकी थिइन्।
उनको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-२ का १६ वर्षीय किशोर र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो।