तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति पुर्याएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएको हो।
रसुवाको गोसाइकुण्ड गाउँपालिकाको कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार टिमुरे गाउँ नै बगाएको छ।
'टिमुरे गाउँ नै बगायो। कति मान्छे बेपत्ता भए थाहा छैन,' घले भन्छन्, 'सग्लो घरहरू एउटै छैनन्। लगभग डेढ सय मानिसहरू उकालो लागेर बाँचेका छौं।'
उनका अनुसार टिमुरेमा लगभग एक सय भन्दा बढी घरहरू थिए। त्यहाँ कति मान्छे जोगिए भन्ने भन्न सक्ने स्थिति छैन।
'कति बगाए, अहिले केही भन्न सकिएको छैन,' उनले भने।
उकालो लागेर बाँचेकाहरू पनि त्यहाँबाट सुरक्षित स्थानमा सार्नुपर्ने रहेको उनले बताए।
'टिमुरेमा भएका प्रहरी, सशस्त्र प्रहरीहरू पनि दुई चारजना मात्र देखिएका छन्। 'नेपाली सेनाको हेलिकप्टर भर्खर आइपुगेको छ, बस्तीका मानिसहरूको जतिसक्दो छिटो खोजि गर्नुपर्यो,' उनले भने।