प्रधानमन्त्री बालेन शाहले रसुवाको बाढीबाट प्रभावित ठाउँमा आआफ्नो ठाउँबाट उद्धार, खोज र राहतमा खटिन अनुरोध गरेका छन्।
बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
उक्त बैठकमा प्रधानमन्त्री शाहले बाढीबाट पुगेको क्षतिबारे नेपाली सेनाबाट ब्रिफिङ लिएका थिए।
त्यस बैठक पछि उनले आगामी कदमबारे सरोकारवालालाई निर्देशन दिएका थिए।
त्यस्तै सबैलाई उद्धार, खोज र राहतमा खटिन अनुरोध समेत गरेका हुन्।
तीब्बत क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढी भोटेकोशी हुँदै त्रिशुली नदीमा मिसिएर धादिङ र चितवनसम्मका तटीय क्षेत्रमा प्रभावित पार्न सक्ने चेतावनी दिइएको छ।
प्रभावित क्षेत्रमा उद्धार र खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको थप प्रहरी परिचालन भएको छ।
सेनाको दुई वटा हेलिकप्टर रसुवा पुगेर उद्धारको प्रयास गरिरहेको छ। त्यस्तै त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग गर्नका लागि नेपाली सेनाको आपतकालीन मेडिकल रेस्क्यू टिम एमआई-१७ हेलिक्टरसहित गएको छ।
धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएको छ। गजुरीस्थित नं.६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ। क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ।
त्यसैगरी सशस्त्र प्रहरी बलतर्फबाट उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेश आदमघाट र नं. १७ गण चितवनबाट ठूलो संख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।