बुधबार बिहान तिब्बत तर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्याएको छ।
बाढीका कारण जिल्लाका सरकारी कार्यालय, बैंक, बजार, होटल, लज, पुल तथा विद्यालयहरू बगाएका छन्।
केही बस्तीमा बाढी पसेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिए।
'इतिहासकै ठूलो क्षति भएको छ। बाढीको यस्तो तबाही अहिलेसम्म देखिएको थिएन,' उनले भने, 'कहाँ-कहाँ के क्षति भयो भनेर भन्न सक्ने अवस्था छैन।'
उनका अनुसार विदुर नगरपालिका–६ स्थित नयाँ कारागार भवनको तल्लो तलामा लेदो र बाढी पसेको छ भने घेराबारा (कम्पाउन्ड वाल) मा क्षति पुगेको छ।
यस्तै, करोडौंको लगानीमा निर्माण गरी बाल सुधार गृह सञ्चालनको अन्तिम तयारीमा रहेको पुरानो कारागारको संरचनालाई भने खोलाले जरैदेखि बगाएर लगेको छ।
बाढीका कारण केही मानिसहरू घाइते भएको र केही सम्पर्कविहीन भएको जानकारी आए पनि मानवीय क्षति (मृत्यु) को आधिकारिक पुष्टि भने भइसकेको छैन।
टेलिफोनका टावरहरू अवरुद्ध हुनुका साथै नेपाल प्रहरीको सञ्चार सेट (वाकी-टकी) समेत ब्याट्री र चार्जको समस्याका कारण प्रभावकारी हुन नसक्दा क्षतिको यकिन विवरण संकलन ढिलाइ भइरहेको उनले बताए।
अहिले उद्धार तथा थप विवरण संकलनको काम जारी रहेको उनले बताए।