रसुवाको गोसाइकुन्ड गाउँपालिका-५ स्याब्रुबेसीमा पहिरोका कारण घाइते तथा विस्थापित भएका नागरिकहरू उद्धारको पर्खाइमा छटपटाइरहेका छन्।
पहिरो प्रभावित क्षेत्रमा हात-खुट्टा भाँचिएका घाइते, गर्भवती महिला, शारीरिक अपांगता भएका व्यक्ति तथा दृष्टिविहीनहरू अलपत्र अवस्थामा परेका हुन्।
पहिरोग्रस्त क्षेत्रबाट प्रत्यक्ष टेलिफोन सम्पर्कमा आएकी प्रतिभा लामाका अनुसार आकाशमा उद्धारका लागि हेलिकप्टर उडे पनि उनीहरू बसेको ठाउँमा रोकिँदै नरोकिई अगाडि बढेको छ।
'हातखुट्टा भाँचिएका घाइतेहरू छौं। यहाँ हेलिकप्टर आएर पनि रोकिएको छैन। तलबाट झन्डा देखाउँदा पनि रोकिएन, माथि नै गयो,' उनले भनिन्, 'हामी पाँच-छ जना छौं।'
उनी दृष्टिविहीन हुन्। साथै, आफूसँग गर्भवती र अपांगता भएका व्यक्तिहरू रहेको उनले बताइन्।
उनीहरूले उद्धारका लागि कपडाहरू देखाइरहेका छन्। आफूहरू स्याब्रुबेसीमामा केही समयअघि नेपाली सेनाले उद्धार गरेको ठाउँ नजिकै रहेको उनी बताउँछिन्।
'घाइतेहरूलाई गाह्रो भइसक्यो। तर हामीलाई नदेखिएको हो कि!' उनले भनिन्, 'हामीलाई छिट्टो उद्धार गरिदिनुहोस्। मेरो बच्चा पनि छ।'
उनी बोल्दाबोल्दै फोन काटिएको छ। उनले आफूसहित टिमलाई उद्धार गर्न भनिरहेकी थिइन्। हामीले उनको मोबाइल नम्बर ९८५१२५३१६९ मा फेरि सम्पर्क गर्ने प्रयास गरिरहेका छौं। तर कुराकानी हुन सकेको छैन। उनको उद्धारमा सहयोग पुगोस् भनेर हामीले उनको नम्बर प्रकाशन गरेका छौं।