रसुवाको बाढी अपराह्न चितवन पुगेको छ।
रसुवाबाट धादिङसम्म पुग्दा विध्वंश मच्चाएको बाढीले चितवन पुगिसक्दा केही कमजोर बनेको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले केहीबेर अघि बाढीले नारायणघाटको पुल पार गरेको जानकारी दिए।
यद्यपि नदीको बहाब केही घटेको र यसले अहिलेसम्म कुनै भौतिक क्षति नगरेको पनि प्रजिअ अर्यालले जानकारी दिए।
बाढीको सूचना पहिल्यै पाइसकेकाले पनि तटीय क्षेत्रमा क्षति गर्न नपाएको उनले बताए।
'हामीले रसुवामा बाढी आएदेखि नै तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी सतर्क गराएका थियौं। त्यसले पनि क्षति गर्न पाएन,' उनले भने।
सँगै समथर जमिनका कारण नदी फैलिने भएकाले यसको बेग पनि कमजोर बनेको बताए।
'नदी फैलिन पायो। त्यसबाट क्षति हुन सक्ने सम्भावना पनि कम बनायो। केही घरहरूमा पानी पसेको भन्ने सम्मको बाहेक कुनै क्षति भएको छैन,' उनले भने।
नदीको बहाब कम देखिए पनि तीन तहको सुरक्षाकर्मीहरू तटीय क्षेत्रमा परिचालित अवस्थामा रहेको पनि बताए।
यद्यपि बाढीसँगै बगाएर ल्याएका दाउरा लगायतका विभिन्न सामग्रीहरू संकलनका लागि मानिसहरू गएको देखिएको उनले बताए।
उनीहरूलाई सुरक्षाकर्मीहरूले नदीबाट हटाइसकेको प्रजिअ अर्यालले बताए।