धादिङबाट रसुवाको गोसाइँकुण्ड गएका २८ जना सम्पर्कविहीन भएका छन्।
बुधबार बिहान रसुवाको टिमुरे नाकामा चीनको तिब्बततर्फबाट बाढी आएपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।
धादिङको नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माका अनुसार सम्पर्कविहीन भएकाहरू नगरपालिकाकै वडा नम्बर ३, ९ र १३ तथा सिद्धलेक–१ का छन्।
'बिहान धादिङबाटै गाडी रिजर्भ गरेर जानुभएको रहेछ। अहिलेसम्म उहाँहरू सम्पर्कमा आउनुभएको छैन,' उनले भने।
उनका अनुसार नीलकण्ठ–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल, नीलकण्ठ–९ का राम लम्साल, राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरि लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल छन्।
त्यस्तै नीलकण्ठ नगरपालिका–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिमिल्सिना छन्।
सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट सम्पर्कविहीन छन्।
प्रशासनसँगको समन्वयमा सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको उपमेयर विश्वकर्माले जानकारी दिए।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि धादिङ बजार क्षेत्रबाटै गोसाइँकुण्ड गएकाहरू सम्पर्कमा नआएको बताए।
'एउटा गाडीमा २०/२२ जनाभन्दा बढी मानिसहरू गएको भन्ने खबर छ। सम्पर्क स्थापित गर्न कोसिस भइरहेको छ,' उनले भने।
बस चालक नीलकण्ठ–१२ का छबिलाल श्रेष्ठ पनि सम्पर्कविहीन छन्।