रसुवा बाढीमा परेर जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन्।
नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन्। यसमा विदेशी कामदार पनि छन्।
प्राधिकरणका अनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधीन त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्क बाहिर छन्।
चिलिमे जलविद्युत कम्पनीको चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र वरपर रहेको एक जना सम्पर्क बाहिर छन्।
यसैगरी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रहेर त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधीन त्रिशुली ३ बी को साइटमा कार्यरत ११ जना सम्पर्कमा छैनन्।
चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत केन्द्रमा ५१ जना सम्पर्कमा छन् भने अन्य सम्पर्कविहीन छन्।
त्रिशुली ३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा कामदार सम्पर्क विहीन छन्।
प्राधिकरणको त्रिशुली जलविद्युत केन्द्र र देवीघाट जलविद्युत केन्द्रमा कार्यरत १/१ जना कर्मचारी सम्पर्क बाहिर छन्।
रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्वीच्यार्डमा काम गर्ने एक जना सम्पर्क बाहिर छन् भने त्यही वितरण केन्द्रको गोटागन्ती मिटर रिडर पनि सम्पर्कमा छैनन्।
त्रिशूली २२० केभी ३ बि हबमा कन्ट्र्याक्टरको तर्फबाट कार्यरत रहेका १६ जना सम्पर्कविहीन छन्।
रसुवागढी जलविद्युत केन्द्रमा विभिन्न कन्ट्र्याक्टरका तर्फबाट मर्मतसम्भार तथा निर्माणमा कार्यरत ९२ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढीबाट कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठको टोलीले प्रभावित क्षेत्र पुगी अनुगमन गरेको छ।
श्रेष्ठले हराइरहेकाहरूको खोज तथा उद्धारका लागि प्राधिकरणको टोली प्रभावित क्षेत्रमा परिचालन गरेका छन्। जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोली स्थानीय क्षेत्रमा क्रियाशिल रहेको श्रेष्ठले बताए।
निमित्त कार्यकारी निर्देशक श्रेष्ठका अनुसार सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास जारी छ।
यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेकाहरूको विवरण संकलन गरी खोज तथा उद्धार कार्य भइरहेको उनले बताए।