फुर्के खोलाको पुल बगाएपछि धादिङ सदरमुकाम धादिङबेसी दिनभर अस्तव्यस्त बन्यो।
पृथ्वी राजमार्गबाट सिधा सदरमुकाम जोड्ने फुर्केखोलाको पुल बाढीले बगाएपछि दिउँसोदेखि धादिङ बजारमा किनमेल गर्नेहरूको भिडले बजार नै अस्तव्यस्त बनेको हो।
बजार अस्तव्यस्त भएपछि सुरक्षाकर्मी नै परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन्।
'मुख्य पुल नै बगेकाले दैनिक उपभोग्य सामानहरू अभाव हुने हल्लाले अत्यधिक मानिसहरू किनमेल गर्न आउँदा बजार अस्तव्यस्त भएको रहेछ। सुरक्षाकर्मी परिचालन गरिएपछि अहिले अवस्था सामान्य छ,' उनले भनिन्।
खाद्यान्न पसलदेखि कपडा पसलहरूमा सामान लुछाचुँडी भएको थियो। धादिङबेसीकै पुछारबजारमा रहेको पेट्रोल पम्पमा पनि सवारी साधनको लाइन लागेको थियो।
बजारमा लुटपाटकै स्थिति सिर्जना भएपछि सुरक्षाकर्मीसँगै नगरपालिकाका प्रतिनिधिहरू परिचालन गरी पसलहरूमा अनावश्यक भिड हटाइएको नीलकण्ठ नगरपालिकका उपमेयर दीपक विश्वकर्माले बताए।
दिउँसो नै उपभोक्ता हित संरक्षण समितिको बैठक बसेर विभिन्न निर्णय गरिएको थियो।
बैठकले हालको अवस्थामा वैकल्पिक बाटोको व्यवस्थापन मिलाउने काम भइरहेकाले जिल्ला सदरमुकाम छिट्टै सहज रूपमा जोडिने आश्वस्त पारेको छ।
त्यस कारण धादिङबेसीमा पसलहरूमा तत्कालका लागि बजारका पसलहरूमा अत्यावश्यक वस्तुहरूको मौज्दात रहेकाले अनावश्यक रूपमा भण्डारण नगर्न उपभोक्ताहरूलाई अपिल गरेको छ।
बैठकले कृत्रिम अभाव र कालोबजारी नगर्न र नगराउन सबै उद्योग व्यवसायीहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ।
यस्तो विषम परिस्थितिमा कालोबजारी गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय भएको उपमेयर विश्वकर्माले जानकारी दिए।
बाढीले फुर्केखोलासहित गजुरी गाउँपालिका-६ जरेखेतको पक्की पुल पनि बगाएको छ। गजुरीकै ५ नम्बर वडास्थित घाटबेसीमा रहेको पक्की पुल पनि बगाएको छ।
धादिङ नुवाकोट जोड्ने गल्छी गाउँपालिका-८ कोल्पुखोलामा रहेको पक्की पुलमा पनि क्षति पुगेको छ।
बाढीकै कारण बेनीघाट रोराङ-१० को ज्वाङ्खोलामा दुवैतर्फ बाटो अवरूद्ध भएको छ। गजुरी गाउँपालिका-२ स्थित बिहानी पम्प, गलौँदी, गजुरी गाउँपालिका-६ जरेखेत र बांगेमुढा, गल्छि गाउँपालिका-६ बैरेनीमा पनि बाढीले सडक अवरूद्ध भएको छ।
केही स्थानमा सडकमा लेदो जम्मा भएको र केही ठाउँमा पन्छाउन मेसिन नै जान सक्ने अवस्था नरहेको धादिङ प्रहरीले जनाएको छ।