रसुवागढी क्षेत्रमा आएको बाढीबाट उद्धार गरिएका रसुवागढी भन्सार कार्यालयका दुई कर्मचारीलाई काठमाडौं ल्याइएको छ।
नायब सुब्बा धर्मराज शाही र तिलक पराजुलीको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।
उनीहरूलाई बाढीबाट उद्धार गरी काठमाडौं ल्याइएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनीहरूसँगै उद्धार भएर काठमाडौं आएका हाइड्रोपावरका कर्मचारी धनबहादुर थापा मगरलाई पनि अर्थमन्त्रीले भेटेका हुन्।
यस्तै, रसुवागढी भन्सार कार्यालयका प्रमुखसहित ८ जना कर्मचारीलाई हवाई उद्धार गरी काठमाडौं ल्याइएको उल्लेख छ।
भन्सारका थप ८ जना कर्मचारी अझै रसुवागढीमै छन्। उनीहरू अर्थ मन्त्रालय र भन्सार प्रशासनसँग सम्पर्कमा रहेको र उद्धारको प्रयास भइरहेको बताइएको छ।
साँझ ८ बजेसम्मको विवरण अनुसार रसुवागढी भन्सार कार्यालयका १५ जना कर्मचारी अझै सम्पर्कबाहिर छन्।
बाढीका कारण रसुवागढी भन्सार प्रशासन र नाकाको व्यापारमा ठूलो क्षति पुगेको जनाइएको छ।