नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा राहतका सामग्री पुर्याउन थालेको छ।
बाढीबाट धेरै प्रभावित भएको रसुवाको टिमुरे र त्रिशूलीमा बुधबार राति नै राहतको सामग्री पुर्याउन थालेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार ११ वटा ट्रकमा त्रिशुलीमा सामान ढुवानी गरिएको थियो। त्यहाँबाट हवाइमाध्यमबाट आवश्यकता अनुसार प्रभावित स्थानमा पुर्याउने काम भइरहेको छ।
बाढीबाट धेरै प्रभावित भएको टिमुरेमा चार वटा सटल राहत पुर्याइएको सेनाले जानकारी दिएको छ।
त्यस्तै मेडिकल टिम पनि थपेर त्रिशूलीमा घाइतेको उपचारका लागि खटिएका छन्।
बुधबार र बिहीबार नेपाली सेनाले हवाइ माध्यमबाट ११४ जना र ६३ जनाको जमिनमार्फत उद्धार गरेको छ। बिहीबार बिहान मात्रै मैलुङको टनेलबाट ३ र टिमुरेबाट १४ जनाको उद्धार गरेको छ।
नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धार कार्यमा २ हजार भन्दा बढी सेना खटिएर खोज, उद्धार तथा राहत वितरण कार्य गरिरहेको छ।
रातभर ११ वटा टिमले जमिनबाट उद्धारका कार्य गरेको सेनाले जनाएको छ।