रसुवामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ।
बुधबार बिहान गएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म १६२ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीले खोजी तथा उद्धारका क्रममा भेटिएको शवको आधारमा उक्त विवरण सार्वजनिक गरेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा २ जना, नुवाकोटमा १२ जना, धादिङमा २७ जना, चितवनमा ६४ जना, गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा २६ जना र नवलपरासी पश्चिममा २ जनाको शव भेटिएको छ।
तिब्बत क्षेत्रबाट आएको बाढी रसुवामा भोटेकोशी हुँदै नुवाकोट र धादिङमा त्रिशूली नदी तथा चितवनमा नारायण नदीका तटीय क्षेत्रमा बाढीले क्षति पुर्याएको छ।
सबैभन्दा बढी क्षति रसुवा,नुवाकोट र धादिङमा देखिएको छ।
त्रिशूलीका पक्की पुलसँगै झोलुंगे पुल बगाएका छन् भने तटीय क्षेत्रका वस्ती नै बगाएको छ।
बुधबार बाढीमा परेकाहरूलाई जीवितै उद्धारका लागि तीनवटै सुरक्षा निकाय परिचालन भएको थियो।
बिहीबार बिहानदेखि बेपत्ताहरूको खोजी कार्य सुरू भएको छ।
प्रहरीका अनुसार खोजी तथा उद्धारका लागि विभिन्न जिल्लामा ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको छ।
रसुवाको बाढीमा परी घाइते भएकाहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार काठमाडौंमा ४२ जनाको उपचार भएकोमा ९ जना डिस्चार्ज भइसकेका छन्।
३३ जना अझै उपचाररत छन्।
छाउनीस्थित सैनिक अस्पतालमा १ जना, वीर अस्पतालमा एक जना, ट्रमा सेन्टरमा ९ जना, टिचिङ अस्पतालमा १९ जना, नर्भिक अस्पतालमा ३ जना र एक जनाको मनोमोहन अस्पताल स्वयम्भुमा उपचार भइरहेको छ।