रसुवामा बाढी आएको दोस्रो दिन आज बिहानैदेखि बेपत्ताहरूको खोजी र उद्धार कार्य सुरू भएको छ।
प्रधानमन्त्री बालेन शाहले पछिल्लो चौबीस घन्टामा भएको उद्धार तथा खोजीकार्य र राहत प्रदानबारे सरकारले गरेका कामहरू सार्वजनिक गरेका छन्।
उनका अनुसार बिहान साढे ६ बजेदेखि नै बाढीमा फसेकाहरूको उद्धार कार्य सुरू भएको छ। सेनाको हेलिकप्टरबाट १५ पटकभन्दा बढी उद्धार उडान भएको र त्यसबाट ११६ जनालाई उद्धार गरिएको प्रधानमन्त्री बालेनले जानकारी दिएका छन्।
‘थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्,’ उनको फेसबुक पेजमा भनिएको छ, ‘नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।’
अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्याउने काम भइरहेको पनि प्रधानमन्त्री बालेनले जानकारी दिएका छन्।
‘प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्याइँदैछ,’ उनले फेसबुक पोष्टमार्फत भनेका छन्।
नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको र त्यहाँ खाना तथा पानीको व्यवस्था गरिएको पनि प्रधानमन्त्री शाहले जानकारी गराएका छन्।
‘ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ,’ उनले भनेका छन्। विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था पनि गरिएको छ।
सरकार प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बिहीबार बिहान साढे ६ बजेदेखि नै बाढीग्रस्त क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी २० वटा हेलिकप्टर त्रिभुवन विमानस्थलमा तैयारी अवस्थामा राखिएको छ।
१० वटा हेलिकप्टर भने प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। सरकारले बुधबार नै निजी हेलिकप्टरहरूलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो।
विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरुको प्राथमिकता निर्धारण गरी हेलिकप्टर परिचालन गरिने पनि मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
हेलिकप्टरहरू राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले निर्देशनअनुसार परिचालन हुनेछन्।
बिहीबार बिहान बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्नका लागि सरकारले मोबाइल टावर पठाइँदै छ।
रसुवासहित नुवाकोट, धादिङ लगायत क्षेत्रमा बाढीले सञ्चार सेवामा समेत प्रभावित पारेकाले सेवा सञ्चालनका लागि जेनेरेटर र सोलारसहितका पोर्टेबल मोबाइल टावर पठाउन लागेको मन्त्री पोखरेलको सचिवालयले जानकारी दिएको छ।
विद्युत आपूर्तिका लागि पनि ब्याकअप प्रणाली पठाउन लागिएको सचिवालयले जनाएको छ।
सँगै चिकित्सा उपकरण, टेन्ट तथा अन्य आवश्यक राहत सामग्री पनि पठाइएको र उद्धार तथा खोज कार्य जारी रहेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका ३ हजार ३१८ जनशक्ति परिचालन भएका छन्। प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले विभिन्न जिल्लामा गरी सो संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।
नेपाली सेनाले रसुवाको टिमुरे र त्रिशूलीमा बुधबार राति नै राहतको सामग्री पठाएको थियो।
सेनाका अनुसार ११ वटा ट्रकमा त्रिशुलीमा सामान ढुवानी गरिएको थियो। त्यहाँबाट हवाइमाध्यमबाट आवश्यकता अनुसार प्रभावित स्थानमा पुर्याउने काम भइरहेको छ।
बाढीबाट धेरै प्रभावित भएको टिमुरेमा चार वटा सटल राहत पुर्याइएको सेनाले जानकारी दिएको छ।
त्यस्तै मेडिकल टिम पनि थपेर त्रिशूलीमा घाइतेको उपचारका लागि खटिएका छन्।
बिहीबार बिहान मात्रै मैलुङको टनेलबाट ३ र टिमुरेबाट १४ जनाको उद्धार गरेको छ।
नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धार कार्यमा २ हजार भन्दा बढी सेना खटिएर खोज, उद्धार तथा राहत वितरण कार्य गरिरहेको छ।
रातभर ११ वटा टिमले जमिनबाट उद्धारका कार्य गरेको सेनाले जनाएको छ।
त्यस्तै सशस्त्र प्रहरी बलबाट १ हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
उनका अनुसार सिएसएसआर टोलीसहित तालिमप्राप्त सुरक्षाकर्मी , डग स्क्वाड र ६ वटा ड्रोन परिचालन गरएको छ।
बाढीमा परी घाइते भएकाहरूको तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन सशस्त्रको चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर स्थापना गरिएको पनि डिएसपी थापाले जानकारी दिएका छन्।
त्यस्तै बाढीमा परेकाहरुको उपचारका लागि एपिएफ अस्पतालमा १०० वटा बेडहरू खाली गरिएको सशस्त्रले जनाएको छ।