नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्य अंशुकिरण शाहीले भोटेकोशी बाढी प्रभावित क्षेत्रहरूमा वैकल्पिक तरिकाले बिजुली लैजाने प्रयास भइरहेको बताएका छन्।
नुवाकोटका धेरै ठाउँमा प्रयास सफल भइसकेको उनले जानकारी दिए।
नुवाकोटको खरानेटार, समुन्द्रटार, चौगडा, लिखु र पञ्चकन्या क्षेत्रमा सिन्धुपाल्चोकबाट लाइन तानेर बिजुली दिएको उनको भनाइ छ। अरू क्षेत्रमा पनि प्रयास भइरहेको उनले बताए।
उनका अनुसार बालाजु र त्रिशूलीको ६६ केभी प्रसारण लाइन प्रयोग गरेर बिजुली लैजाने प्रयास भइरहेको छ। त्यसपछि नुवाकोट जिल्लाभरी बिजुली पुग्ने छ।
धादिङको गजुरी, मुग्लिनमा बिजुली सुरू भइसकेको र रातमाटेमा पनि बिजुली सुरू भइसकेको उनले उल्लेख गरे।
रसुवामा भने सबैसँग समन्वय गरेर क्षति विवरण संकलन गरिरहेको उनले जानकारी दिए।