भोटेकोशी-त्रिशूलीमा आएको भीषण बाढीले नुवाकोटका बालबालिका गम्भीर रूपले प्रभावित भएका छन्।
बुधबार बिहान ९ बजेतिर बाढी आउँदा विद्यालयहरू खुल्ने समय भइसकेकाले अधिकांश विद्यालय पुगिसकेका थिए। अचानक आएको बाढीका कारण नुवाकोटको विदुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आफ्ना परिवारसँग छुट्टिन पुगेको विदुर नगरपालिका-१ का वडाध्यक्ष लेनिन रञ्जितले बताए।
उनका अनुसार यसरी छुट्टिएका बालबालिकालाई बिहीबार हेलिकप्टरमार्फत परिवारसँग पुनर्मिलन गराउने काम भइरहेको छ।
'बाढीका कारण परिवारसँग छुट्टिएका विद्यार्थीलाई घर पुर्याउने कार्यलाई पालिकाले उच्च प्राथमिकतामा राखेर अघि बढाएको छ,' उनले सेतोपाटीसँग भने।
उनले अगाडि भने, 'विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर उद्धारको काम भइरहेको छ। हिजो बाढीका कारण वडा नम्बर १ का विद्यार्थीहरू अर्को वडामा र अर्को वडाका विद्यार्थीहरू यतातर्फ परेको अवस्था छ। उनीहरूलाई आ-आफ्नो घर पठाउन आजैदेखि हेलिकप्टरमार्फत उद्धार भइरहेको छ।'
वडा नम्बर १ मा बाढी आउँदै छ भन्ने पूर्वसूचना पाउनासाथ त्रिशूली बजारमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका शिक्षकले विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ लगेका थिए।
'प्रधानाध्यापकज्यूले नै करिब ४० जना विद्यार्थीलाई आफ्नै साथमा माथिल्लो भेगमा लैजानुभएको थियो,' उनले थपे, 'अहिले उहाँहरू सुरक्षित हुनुहुन्छ।'
उनका अनुसार बाढी प्रभावितहरूका लागि विदुरका विभिन्न स्थानमा राहत तथा बसोबासको व्यवस्था मिलाइएको छ। विदुर नगरपालिका-९ स्थित भैरव माध्यमिक विद्यालयको कभर्ड हलमा क्याम्प बनाएर विस्थापितहरूलाई राखिएको छ भने कतिपय स्थानीयहरू वडा नम्बर २ स्थित आफन्तको घरमा बसेका छन्।
त्यस्तै, वडा नम्बर ४ को किरियापुत्री भवन लगायतका स्थानमा पनि प्रभावितहरूलाई राखिएको छ।
'क्याम्प बनाएर राखिएका क्षेत्रमा हेलिकप्टरमार्फत राहत पठाउने काम भइरहेको छ। उद्धार गरेर ल्याइएकाहरूलाई क्याम्पमै खाना र बस्ने व्यवस्था मिलाइसकेका छौं। कभर्ड हलको क्याम्पमा मात्रै वडा नम्बर १ का ३५० जना राखिएका छन्,' उनले भने।
हाल विदुर नगरपालिकामा उद्धार गर्नुपर्ने मानिसहरूको संख्या घट्दै गएको उनले बताए।'अब धेरैको उद्धार गर्न बाँकी छैन, संख्या न्यून भइसकेको छ। रसुवामा अझै धेरै हुन सक्छ। आज १५-१६ वटा हेलिकप्टरमार्फत विदेशी नागरिक (कैलाश मानसरोवर गएका) सहित धेरैको उद्धार भइसकेको छ,' उनले जानकारी दिए।
यद्यपि बाढीका कारण मानवीय क्षति र बेपत्ता हुनेहरूको संख्या भने चिन्ताजनक छ।
वडाध्यक्ष रञ्जितका अनुसार उनको वडामा मात्रै ७ जनालाई बाढीले प्रत्यक्ष बगाएको देखिएको छ भने ६३ जना सम्पर्कविहीन छन्।
'भाडामा बसोबास गर्नेहरूको तथ्यांक संकलन हुन अझै बाँकी नै छ,' उनले भने। त्यस्तै, वडा नम्बर ७ सोलेका ६५ जना र वडा नम्बर ५ देवीघाटका १५ जना सम्पर्कविहीन छन्। वडा नम्बर ५ का तीन जनाको भने शव फेला परिसकेको छ।
८०० भन्दा बढीको उद्धार, त्रिशूलीमा आपतकालीन उपचार केन्द्र
बिहीबार बिहानदेखि अपराह्नसम्म ८०० भन्दा बढी बाढी प्रभावितको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। तीमध्ये ६०२ जनाको हवाई माध्यम (हेलिकप्टर) बाट उद्धार गरिएको छ, जसमा ५० जना विदेशी नागरिकसमेत छन्। बाँकी २०० जनाको पैदल/जमिनी माध्यमबाट उद्धार गरिएको हो।
उद्धारसँगै घाइतेहरूको उपचारका लागि नेपाली सेनाको वीरेन्द्र अस्पतालबाट खटिएको डाक्टर अधिकृतसहितको मेडिकल टोलीले त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र स्थापना गरेको छ।
उक्त केन्द्रबाट हालसम्म ३३८ जना घाइतेलाई उपचार सेवा प्रदान गरिसकिएको छ।
खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन ड्रोन र सैनिक तालिमप्राप्त कुकुर (डग) को समेत प्रयोग गरिएको छ। ४ हजार २ सयभन्दा बढी नेपाली सेनाको फौजले समन्वयात्मक रूपमा घाइतेहरूको खोजी, उद्धार, आपतकालीन उपचार र राहत सामग्री वितरण गरिरहेको छ।
साथै, सुरक्षाकर्मीहरू धादिङस्थित पृथ्वी राजमार्गमा जमेको लेदो र गेग्रान पन्छाएर सडक पुनः सञ्चालन गर्ने कार्यमा समेत निरन्तर खटिरहेका छन्।