रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिमपहिरो गएको स्थानमा पानी थुनिएर नयाँ ताल बनेको छ।
त्यहाँ जम्मा भएको पानी र त्यसलाई थुनेर राखेको भग्नावशेषको स्थिरताले अब फेरि बाढी आउने वा नआउने तथा आएमा त्यसको आकार निर्धारण गर्ने विशेषज्ञहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का हिममण्डल तथा वातावरणीय जोखिम सम्बन्धी प्रमुख डा. छ्याङगङ झाङका अनुसार हिमपहिरो गएको हिमनदीको निकास क्षेत्रमा ढुंगा, माटो तथा अन्य भग्नावशेष थुप्रिएर पानी थुनिएको ताल बनेको हो।
अहिले सबैभन्दा महत्वपूर्ण विषय उक्त तालमा कति पानी जम्मा भएको छ र पानी थुन्ने गरी बनेको प्राकृतिक बाँध कति स्थिर छ भन्ने हो।
'हाल हिमपहिरो गएको हिमनदीको निकास क्षेत्रमा भग्नावशेष थुप्रिएर पानी थुनिएको ताल बनेको छ,' झाङले भनेका छन्, 'तालमा जम्मा भएको पानीको मात्रा र बाँधको स्थिरताले दोस्रो बाढी आउँछ कि आउँदैन र आएमा त्यसको परिमाण निर्धारण गर्नेछ।'
यसको अर्थ, अहिले भोटेकोशी क्षेत्रमा पहिलो बाढीको क्षतिको मूल्यांकन भइरहेकै बेला माथिल्लो क्षेत्रमा बनेको नयाँ ताल अर्को जोखिमको विषय बनेको छ।
प्राकृतिक रूपमा बनेको बाँध कमजोर भएर थुनिएको पानी एकै पटक बाहिरिएमा त्यसले तल्लो क्षेत्रमा फेरि बाढीको अवस्था सिर्जना गर्न सक्छ।
यद्यपि अहिले नै दोस्रो बाढी कति ठूलो हुन्छ वा निश्चित रूपमा आउँछ भन्ने निष्कर्षमा पुग्न नसकिने झाङको भनाइ छ। त्यसका लागि तालमा जम्मा भएको पानीको मात्रा र बाँधको स्थिरता मूल्यांकन गर्नुपर्ने हुन्छ।
भोटेकोशीमा आएको बाढीका कारण र त्यसको प्रक्रियाबारे पनि वैज्ञानिक तथा सम्बन्धित निकायहरूले अध्ययन गरिरहेका छन्। अहिले विभिन्न पक्षबाट विपदको मूल्यांकन भइरहेको झाङले बताए। त्यसको मुख्य उद्देश्य बाढी कसरी र किन आयो भन्ने पत्ता लगाउनु हो।
विशेषज्ञहरूका अनुसार भोटेकोशीमा देखिएको जोखिमले हिमाली क्षेत्रमा विपद पूर्वतयारी र पूर्वसूचना प्रणालीको आवश्यकता फेरि देखाएको छ।
यस्ता जोखिम न्यूनीकरणका लागि सबैभन्दा पहिले क्षेत्रीय स्तरमा हिमनदीको स्थिरताको मूल्यांकन गर्न आवश्यक भएको झाङ बताउँछन्। कुन हिमनदी अस्थिर छ, कहाँ हिमपहिरोको जोखिम छ र त्यस्तो घटनाले तल्लो क्षेत्रमा कस्तो असर पार्न सक्छ भन्नेबारे नियमित अध्ययन र निगरानी गर्नुपर्ने हुन्छ।
त्यस्तै, निगरानी तथा पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्छ। हिमनदी वा हिमाली क्षेत्रमा असामान्य गतिविधि देखिए त्यसको सूचना समयमै तल्लो क्षेत्रमा पुर्याउन सकिए सम्भावित क्षति घटाउन सकिन्छ।
पूर्वसूचना प्रणालीसँगै स्थानीय समुदायको विपद सम्बन्धी चेतना र आपतकालीन प्रतिकार्य क्षमता पनि बढाउनुपर्छ। जोखिमको सूचना पाएपछि सुरक्षित स्थानमा जाने, उद्धार तथा आपतकालीन व्यवस्थापन गर्ने क्षमता समुदायमै विकास गर्नुपर्ने उनको भनाइ छ।
भोटेकोशीको माथिल्लो जलाधार सीमापार क्षेत्रमा रहेकाले यस्ता विपदको पूर्वसूचना र प्रतिकार्यका लागि देशहरूबीच समन्वय आवश्यक हुने विशेषज्ञहरूले बताएका छन्।
विपदको पूर्वसूचना तथा प्रतिकार्यका लागि विभिन्न क्षेत्र र देशबीच समन्वय गर्ने संयन्त्र विकास गर्नुपर्ने झाङले बताए। हिमाली क्षेत्रमा एउटा स्थानमा भएको हिमपहिरो, हिमनदीमा आएको परिवर्तन वा नदी थुनिने घटनाको असर केही समयमै तल्लो क्षेत्रमा देखिन सक्छ। त्यसैले माथिल्लो क्षेत्रमा जोखिमको संकेत देखिनेबित्तिकै त्यसको जानकारी तल्लो क्षेत्रसम्म पुर्याउने संयन्त्र आवश्यक हुन्छ।
इसिमोडले पनि भोटेकोशी बाढीपछि नेपाल र चीनका वैज्ञानिक तथा सम्बन्धित निकायले घटनाको कारण र सम्भावित थप जोखिमबारे अध्ययन गरिरहेको जनाएको छ।
संस्थाका अनुसार माथिल्लो क्षेत्रमा रहेको अवरोधको आकार, स्थान र स्थिरताको मूल्यांकन भइरहेको छ।
अहिले भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन र घटनाको वैज्ञानिक अध्ययन जारी छ। त्यही क्रममा हिमपहिरो गएको स्थानमा बनेको पानी थुनिएको तालले अर्को जोखिम थपेको छ।