बुधबार बिहान ९ बजेतिर रसुवागढीतिरबाट सुनामीको भेलजस्तो बाढी आएका तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हुन थालेपछि अचानक पुराना चिनजानका स्याफ्रुबेसीका बासिन्दा छेवाङ लामाको सम्झना आयो।
नम्बर खोजेर पहिले ह्वाट्सएप मार्फत सम्पर्क गर्न खोज्दा फोन लागेन। नेपाल टेलिकमको मोबाइल पनि लागेन। विध्वंशकारी बाढी र क्षतिका अनगिन्ती भिडिओ र फोटा हेरेपछि मन अशान्त रह्यो।
किनभने म कम्तीमा २० पटक रसुवाका विभिन्न गन्तव्य घुम्न गइसकेको छु।
स्याफ्रु बाटो पर्दा बाटोदेखि माथि बसेको चिटिक्कको लाम्चो 'पिसफुल होटल' मा खानेबस्ने गरिन्थ्यो। यो छेवाङ लामाको होटल हो।
दिउँसो १ बजेतिर अचानक फोन लाग्यो। उठाइहालेँ।
सन्चो–बिसन्चोबारे सोधेँ।
थकित र अत्तालिएको स्वरमा भन्न थाले, 'सबै सखाप भयो, स्याफ्रुबेसी र वरपर केही पनि बाँकी छैन। सबै बाढीले बगायो। केही छैन, केही छैन, केही छैन।'
स्याफ्रुमैँ (तल त्रिशूली भनिने) भोटेकोशी नदीमा लाङटाङ नदी मिसिन्छ। बजार बीचमा बाटोदेखि पश्चिमतिर अझै माथि उनको पिसफुल होटल थियो।
त्यसको अवस्थाबारे सोध्दा उनले भने, 'केही पनि छैन। पिसफुल होटल पनि ध्वस्त भयो। मेरो बुढी र छोरा हराइरहेका छन्। ममी पनि हराउनुभयो।'
आफ्नी श्रीमतीलाई समातेर माथि उक्लिँदै गर्दा आफू बचे पनि उनलाई बचाउन नसकेको भन्दै उनी भक्कानिए। पिसफुल होटलबाट करिब ६० मिटर माथि पुगेर आफू बच्न सफल भएको उनले बताए।
'बाढीको भेलको छाल होटलभन्दा ५० मिटर माथिसम्म आइपुगेको थियो,' उनले भने।
त्यो सुनेर म पनि विचलित भएँ, भावुक भएँ। केही बेर सम्हालिएपछि त्यस्तो अकल्पनीय खबर सुनेर निकै दुःखी भएको बताएँ।
स्याफ्रुबेसीका अन्य मानिसको अवस्थाबारे सोध्दा उनले भने, 'यस क्षेत्रबाट कम्तीमा १०० जना हराइरहेका छन्। पूरै बजार केही पनि बाँकी छैन।'
बिहीबार साँझ उनी सेनाको हेलिकप्टरमा धुन्चे पुगे। सँगै गाउँका ६५ जना उद्धार गरेर धुन्चे पुर्याइएका छन्।
काठमाडौंबाट करिब १२० किलोमिटर उत्तरमा रहेको स्याफ्रुबेसी रसुवाको धुन्चे र कालिकापछिको तेस्रो ठूलो बजार हो।
स्याफ्रुकै बाटो केही किलोमिटर उत्तर लागेपछि बुधबारको बाढी सुरू भएको रसुवागढी क्षेत्र पुगिन्छ। त्यहाँदेखि दक्षिण भोटेकोशी र तल त्रिशूली किनारमा चलिरहेका वा बनिरहेका कैयौं जलविद्युत केन्द्र, तल पुलहरूमा समेत क्षति पुगेको छ।
स्याफ्रुबेसीमै कम्तीमा दुई वटा जलविद्युत केन्द्र, चिलिमे र लाङटाङमा क्षति पुगेका विवरण छन्।
लाङटाङ मिसिने दोभानबाट माथि उक्लिएको बाढीले माथिल्लो अर्को लाङटाङ जलविद्युत केन्द्रमा समेत क्षति पुर्याएको छ।
स्याफ्रुबाटै खोला किनारैकिनार बेत्रावती आउने बाटोमा रहेका केन्द्र कुनै पनि सग्ला छैनन्।
बाटोमा गुडिरहेका कन्टेनरदेखि गाडी गरेर एक हजार वटाभन्दा बढी सवारी साधन बगाएको विवरण छ। साथै, त्यस क्षेत्रमा कार्यरत लाङटाङ निकुञ्ज, सेना र प्रहरीका कैयन कर्मचारी हराइरहेका छन्।