रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बुधबारदेखि माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको सुरूङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको सेनाले उद्धार गरेको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार अहिले पनि सुरूङमा फसेका १०० जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको छ।
सुरूङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमान्डमा १/३ को सैन्य टोली खटिएको सचिवालयले जनाएको छ।
त्यस्तै, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलहरूमा पुगेर पनि सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ।
सिक्युआरटी धुन्चे ब्यारेक (रसुवा) बाट सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको १/५ को टोलीले स्याफ्रुबेसी, टिमुरे, मैलुंग, ठूलो हाकु र हाकुबेसीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।