प्राकृतिक विपतका कारण जनजीवन प्रभावित भएको भन्दै शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले मौजुदा विश्वविद्यालय सम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै भदौ १३ देखि सञ्चालन हुने तय भएका सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सम्बन्धित उपकुलपतिहरूलाई निर्देशन दिएका हुन्।
मन्त्री पोखरेलद्वारा जारी निर्देशनमा भदौ १२ गते सञ्चालित परीक्षामा विपदका कारण सहभागी हुन नसकेका परीक्षार्थीका लागि अनुकूल समयमा पुन: परीक्षाको व्यवस्था मिलाउन भनिएको छ।
शिक्षामन्त्रीले विश्वविद्यालयहरूलाई देहाय बमोजिमका ५ बुँदे निर्देशन कार्यान्वयन गर्न आग्रह गरेका छन् —
परीक्षा स्थगन र नयाँ तालिका: हाल सञ्चालित र तय भएका सबै परीक्षा स्थगित गर्ने तथा उपयुक्त समयमा संशोधित परीक्षा तालिका सार्वजनिक गर्ने।
सामूहिक कार्यक्रममा रोक: अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक गतिविधिहरू स्थगित गर्ने।
सम्पर्क र समन्वय: विपद प्रभावित विद्यार्थी तथा अभिभावकहरूसँग शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय र आवश्यक सहयोग उपलब्ध गराउने।
मनोसामाजिक परामर्श: विपदका कारण मानसिक तनावमा परेका विद्यार्थी तथा अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था मिलाउने।
शैक्षिक निरन्तरता: विपदले अध्ययनमा पारेको प्रभावलाई ध्यानमा राखी विद्यार्थीको पढाइलाई निरन्तरता दिन आवश्यक सहजीकरण गर्ने।