रूपन्देहीको बुटवल उपमहानगरपालिकासहित तीनवटा स्थानीय तहले 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा सवा करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएका छन्।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि नेपाल सरकारले गरेको आह्वान अनुरूप तीन पालिकाले कुल १ करोड २६ लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेका हुन्।
बुटवल उपमहानगरपालिकाद्वारा ५१ लाख सहयोग
उक्त कोषमा बुटवल उपमहानगरपालिकाले मात्रै ५१ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
नगरप्रमुख खेलराज पाण्डेका अनुसार बिहीबार बसेको आकस्मिक कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रूपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
यसैगरी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका तर्फबाट थप रकम कोषमा जम्मा गरिने भएको छ।
विपदमा परी बुटवल क्षेत्रका कुनै नागरिक प्रभावित भएको जानकारी प्राप्त भए उनीहरूको उद्धारका लागि थप ५ लाख रूपैयाँ उपलब्ध गराउने निर्णयसमेत भएको नगरप्रमुख पाण्डेले जानकारी दिए।
साथै, भीषण बाढीका कारण सिँगो देश शोकमा परेका बेला मानवीय संवेदनालाई ध्यानमा राखी भदौ २२ गतेसम्म कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम नगर्न र नगराउन बुटवलस्थित सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, संघ-संस्था एवं नगरवासीलाई उपमहानगरले आग्रह गरेको छ।
तिलोत्तमा नगरपालिकाले ४० लाख उपलब्ध गराइने
तिलोत्तमा नगरपालिकाले पनि प्रकोप उद्धार कोषमा ४० लाख रूपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
बाढी पहिरोले पुर्याएको क्षतिको पीडा सिँगो राष्ट्रकै पीडा भएको उल्लेख गर्दै नगरपालिकाले यस्तो कठिन परिस्थितिमा राहत तथा उद्धारका लागि सहयोग गर्ने जनाएको छ।
नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट २५ लाख रूपैयाँ र सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको ३ दिनको सेवा-सुविधा तथा पारिश्रमिक बापतको रकम गरी करिब ४० लाख रूपैयाँ उपलब्ध गराइने भएको हो।
सिद्धार्थनगर नगरपालिकाको ३५ लाख सहयोग
सिद्धार्थनगर नगरपालिकाले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि ३५ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार बसेको कार्यपालिका बैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट २५ लाख, नगरप्रमुख र उपप्रमुखको १/१ महिनाको तलब तथा जनप्रतिनिधि र कर्मचारीहरूको २ देखि ७ दिनसम्मको सेवा-सुविधाबापतको रकम गरी कुल ३५ लाख रूपैयाँ जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख इस्तियाक अहमद खाँले बताए।
सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा साढे ११ लाख सहयोग
भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ लाख ५१ हजार रूपैयाँ उपलब्ध गराउने भएको छ।
संघको बिहीबार बसेको कार्यसमिति बैठकले कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।