तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूलीमा आएको आकस्मिक बाढीपछि नागरिकका लागि बाढी बुलेटिन सार्वजनिक गरिएको छ।
यसमा सरकारी स्थिति विवरण, उद्धार सूची, हराएका व्यक्तिको विवरण र नदी सतर्कताको जानकारी एकै ठाउँमा राखिएको छ।
यो पोर्टल अर्थमन्त्रालयमा कार्यरत अधिकृत निरज भुसालले तयार पारेका हुन्।
यो (https://nirajbhusal.github.io/rasuwa-flood-bulletin/) मा हेर्न सकिन्छ।
उनले एक्समा पनि नियमित अपडेट राखिरहेका छन् (https://x.com/nirajbhusal)। लिंकडइनमा पनि विवरण राखिएको छ (https://www.linkedin.com/in/nirajbhusal)।
साइटमा विवरण ‘लाइभ’ अद्यावधिक हुन्छ। भाषा नेपाली र अंग्रेजीमा परिवर्तन गर्न सकिन्छ।
यो सरकारको आधिकारिक पोर्टल भने होइन।
यद्यपि अर्थमन्त्रालयमा कार्यरत अधिकृतले बनाएको यो पोर्टलमा सरल ढंगले सबै किसिमका जानकारी राखिएको छ।
प्रत्येक खण्डमा स्रोत उल्लेख गरिएको छ।
स्रोतमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिट्रेप, नेपाल प्रहरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जल तथा मौसम विज्ञान विभागका गेज, जिल्ला प्रशासन, हेलो सरकार र सार्वजनिक फारम छन्।
मुख्य पृष्ठमा मृतक, घाइते, सम्पर्कविहीन र हेलिकप्टर उद्धारका पछिल्ला तथ्यांक कार्डमा देखिन्छन्।
उद्धार र उपचारको सूची छुट्टाछुट्टै राखिएको छ। नुवाकोट, सूर्यगढी, रसुवा–टिमुरे, भारतीय नागरिक र काठमाडौं हेलिकप्टर उडानका विवरण अलग तालिकामा छन्।
हराएको तथा भेटिएको विवरण पनि राखिएको छ। सर्वसाधारणले फारम भरेर विवरण पठाउन सक्छन्।
हेलो सरकार र मधेश प्रदेस प्रहरीका सूची पनि अलग कार्डमा राखिएका छन्। जाँच गरेपछि मात्र नाम देखिने व्यवस्था छ।
आपत्कालमा १२३४ र प्रहरीको १०० नम्बरलाई प्राथमिक सम्पर्क भनिएको छ।
राहतसम्बन्धी जानकारी पनि साइटमा छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक पोर्टल, बैंक खाता र क्यूआर कोड राखिएको छ।
अनधिकृत रूपमा राहत रकम संकलन भएको पाइए उजुरी गर्न सम्बन्धित कार्यालयको फोन नम्बर पनि राखिएको छ।
नदीको सतहसम्बन्धी विवरण पनि हेर्न सकिन्छ। ढुंगे, बेत्रावती, फुर्के, कालीखोला र देवघाटलगायतका स्वचालित गेजको पछिल्लो मापन देखिन्छ।
बाढीको अनुमानित बाटोसमेत देखाइएको छ। १० भदौ बिहानदेखि भएका घटनाको समयरेखा पनि राखिएको छ।
मन्त्रिपरिषद्का निर्णयको विवरण छ। पुल, सडक र विद्युत्गृहमा भएको क्षतिको विवरण पनि राखिएको छ।
प्रभावित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको फोन नम्बरसमेत राखिएको छ। नम्बरमा क्लिक गरेर सिधै फोन गर्न सकिन्छ।