रसुवाको भोटेकोशी नदी क्षेत्रमा पुनः लेदोसहितको बाढीको जोखिम बढेको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गर्दै यही भदौ १० गते भीषण बाढी आएकै क्षेत्रमा पुनः लेदोसहितको पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाएको छ।
माथिल्लो क्षेत्रमा लेदो बढेकाले पुनः थप बाढी आउन सक्ने जोखिम कायमै रहेको प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतद्वारा हस्ताक्षरित सूचनामा भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा विविध कारणले जोखिमपूर्ण क्षेत्रमा रहेका सर्वसाधारण सबैलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
साथै, नदी किनार र आसपासका सम्भावित जोखिम क्षेत्रमा रहेका मानिसहरूलाई खतराको अलिकति पनि संकेत देखिएमा तुरून्त सुरक्षित स्थानतर्फ जान विशेष अनुरोध गरिएको छ।
यसबीच बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:३१ बजे सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा बस्न भनेको छ।
'भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ,' महाशाखाले भनेको छ।
यसअघि नेपाल प्रहरीले पनि तिब्बततर्फ पुन: ड्याम फुटेको सूचना पछि तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध गरेको छ। शुक्रबार चिनियाँ पक्षले तिब्बतको क्षेत्रमा पानी जमेको ताल फुटेको जानकारी गराएपछि सुरक्षित रहन अनुरोध गरेको हो।
'तिब्बततर्फ पानीको ड्याम पुन: फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधरणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान/जानकारी गराउन अनुरोध छ,' प्रहरीले भनेको छ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले पनि हेलिकप्टरबाट रेकी गर्ने काम भएको बताए।
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवासहित तल्लो तटीय क्षेत्रमा व्यापक जनधनको क्षति भएको थियो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका थिए। सुरक्षा निकायहरूले ती ठाउँमा उद्धारका कार्य गर्दै आएको छ।
तीन दिन अघि आएको बाढी पछि पनि सबै पानी सुकिनसकेको र फेरि पानी जम्न थालेको सूचना चिनियाँ पक्षले दिएको थियो। उक्त सूचना पछि सतर्क रहन अनुरोध गर्दै आएको थियो।