विपद् विज्ञ एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता डा. गंगालाल तुलाधरले विपद्पछिको उद्धारका लागि अन्तराष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिएका छन्।
रसुवा बाढीमा विभिन्न सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसक्नु दुःखद् भएको भन्दै उनले उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनले नभ्याउने भए विदेशी सहयोग लिनुपर्ने सुझाव दिनुभएको हो।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विपद् व्यवस्थापनमा सरकारका क्रियाकलापहरु प्रशंसनीय भएपनि मानवीय उद्धारलाई प्राथमिकता दिन नसक्दा त्यसको सन्देश नकारात्मक जानेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।
अन्तर्राष्ट्रिय क्षेत्रमा सुरुङ उद्धार सम्बन्धी विज्ञता भएका जापान, चीन, भारत लगायतसँग तत्काल सहयोग मागेर मानवीय उद्धारमा तदारुक हुन सरकारसँग आग्रह गरे।
विगतमा आवश्यक पर्दा बंगलादेशबाट गोताखोरसमेत ल्याएको उदाहरण दिँदै उनले अहिले पनि उद्धार प्रविधि र अनुभव भएका देशसँग सहयोग माग्नुपर्नेमा जोड दिए।
उनले विशेषगरी जलविद्युत आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
‘सुरुङमा भएका मान्छेहरूलाई कसरी उद्धार गर्ने भन्ने कुरामा सरकारले र खासगरी सेनाले गरेका अभुतपूर्व खालका कामहरू प्रशंसनीय छन्, तर त्यहाँ अड्केका मान्छेहरूलाई कसरी निकाल्ने भन्ने कुरामा प्राविधिक हिसावले र साधनस्रोतका हिसावले हामी पूर्णरूपमा सम्पन्न नहुन सक्छौँ। हामीसँग प्रविधि छैन, मानव स्रोत छैन भने अप्ठ्यारो नमानीकन विदेशी मित्रहरूसँग हात फैलाउनै पर्छ। सुरुङमा फसेका मान्छे उद्धार गर्ने असाध्यै राम्रो अनुभव जापानसँग हुन सक्छ, चीनसँग हुन सक्छ। उनै देशहरूसँग हामीले अनुरोध गर्नुपर्छ। यसमा अप्ठ्यारो मान्नु हुँदैन,' उनले भने।
अहिले प्रचार भइरहेको सरकारले सहयोग नलिने भन्ने विषय गलत रहेको पनि उनले बताए।
'तर जो दिएपनि लिने भन्ने पनि होइन। दाताहरूले के दिन सक्छन्, हामीलाई के आवश्यक छ भन्ने आधारमा ध्यानपूर्वक कुराकानी गर्नुपर्छ,' उनले भने।
-न्युज एजेन्सी नेपाल।