रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएकामध्ये भेटिएका शव चितवनका विभिन्न अस्पतालमा ल्याएर पहिचानको प्रक्रिया अघि बढाइएको छ।
पहिचान हुन नसकेका शवको डिएनए परीक्षणमार्फत पहिचान गर्ने तयारी गरिएको छ।
पुरानो मेडिकल कलेज तथा कलेज अफ मेडिकल साइन्सेज, भरतपुरका चिकित्सक डा. प्रभाष रोयका अनुसार बाढीमा परी भेटिएका केही शव ट्याटू, कानमा मुन्द्री, शरीरमा रहेका दाग लगायतका आधारबाट समेत पहिचान हुन नसकेपछि डिएनए परीक्षणको प्रक्रिया अघि बढाइएको हो।
पहिचान नभएका प्रत्येक शवबाट दुई–दुई वटा दाँतको नमूना निकालिएको छ। दाँत डिएनए परीक्षणका लागि भरपर्दो स्रोत भएकाले नमूना संकलन गरी काठमाडौंस्थित फरेन्सिक साइन्स टोलीलाई पठाइएको उनले बताए।
चितवनका सरकारी तथा निजी अस्पताल, होल्डिङ सेन्टर र अन्य स्थानमा राखिएका शवबाट समेत नमूना संकलन गरिएको छ। राति ३३ वटा शवबाट नमूना संकलन गरिएको र त्यसपछि बिहानैदेखि थप शवको नमूना संकलनलाई निरन्तरता दिइएको उनले जानकारी दिए।
शव धेरै समयसम्म राख्दा संक्रमणको जोखिमसमेत बढ्ने भएकाले प्रशासनिक निर्णय अनुसार डिएनए नमूना संकलनपछि शव व्यवस्थापन तथा अन्त्येष्टिका लागि देवघाट क्षेत्रतर्फ लैजाने प्रक्रिया अघि बढाइएको छ।
संकलित डिएनए नमूनाले अहिले पहिचान हुन नसकेका शवको पहिचान गर्न मात्र नभई भविष्यमा परिवारजनलाई आफ्ना आफन्त चिन्नसमेत सहयोग पुग्ने डा. रोयले बताए।







