भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन भइरहेका बेला अनधिकृत रूपमा ड्रोन उडाउन थालिएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई ड्रोन नउडाउन आग्रह गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका काम भइरहेका छन्।
उद्धार तथा राहतको काम भइरहेका स्थानमा केही व्यक्ति तथा संस्थाले अनुमति नलिई ड्रोन उडाइरहेको पाइएको प्राधिकरणको सूचनामा उल्लेख छ।
उद्धारका लागि हेलिकप्टरहरू नियमित रूपमा उडान गरिरहेका बेला अनधिकृत ड्रोन उडाउँदा हवाई सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्ने र त्यस्ता ड्रोनका कारण हेलिकप्टरको उडानमा बाधा पुग्नुका साथै खोजी तथा उद्धार कार्य नै प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको हो।
प्राधिकरणले उद्धार उडानको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै 'मानवरहित हवाई उपकरण आरपिए/ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५' बमोजिम मात्र ड्रोन उडाउन आग्रह गरेको छ।
सूचना अनुसार ड्रोन उडाउनुअघि सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिनुपर्नेछ।