रसुवाको भोटेकोसी–त्रिशूलीमा भदौ १० गते आएको बाढीमा परी मृत्यु भएका ३० जनाको शव आइतबार पश्चिम नवलपरासीमा फेला परेका छन्।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय अन्तर्गतको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भदौ १४ गते मात्रै २४ वटा शव र ६ वटा शवका विभिन्न अंग फेला परेका हुन्।
योसँगै आइतबार अपराह्न ५ बजेसम्म पश्चिम नवलपरासीको नारायणी नदी आसपासका क्षेत्रमा फेला परेका शवको संख्या ११२ पुगेको छ।
भदौ ११ गते २७ वटा शव र एउटा शवको अंग फेला परेको थियो। १२ गते ७ वटा शव र १२ वटा शवका विभिन्न अंग फेला परेको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। त्यसैगरी १३ गते २० वटा शव र १५ वटा शवका विभिन्न अंगहरू फेला परेका थिए।
केन्द्रका अनुसार ४५ वटा शव पुरूषका र २६ वटा महिलाका छन्। त्यस्तै बालक ४ र बालिका ३ जनाको शव फेला परेको छ। ३४ वटा भने शरीरका विभिन्न अंग रहेकाले महिला वा पुरूष पहिचान हुन सकेको छैन।
यस्तै, बाढी तथा विपदका कारण सम्पर्कमा आउन नसकेकाहरूको संख्या पनि आइतबार थप भएको छ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट संकलित तथ्यांक अनुसार आइतबार साँझ ५ बजेसम्म २५८ जना सम्पर्कमा आउन सकेका छैनन्। यसअघि शनिबारसम्म प्रदेशका १६८ जना सम्पर्कमा आउन सकेका थिएनन्।
केन्द्रका अनुसार सबैभन्दा बढी बर्दियाका ९१ जना सम्पर्कमा छैनन्। त्यस्तै रूपन्देहीका ३६, दाङका ३५, रोल्पाका २५, बाँकेका २१, पाल्पाका १०, प्युठानका १०, अर्घाखाँचीका ८, गुल्मीका ८, पश्चिम नवलपरासीका ६, कपिलवस्तुका ४ र रुकुम पूर्वका पनि ४ जना सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएका शवहरू सम्बन्धित जिल्लामै पठाइएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार २४ वटा शव र ९ वटा शवका अंगहरू व्यवस्थापनका लागि सम्बन्धित जिल्लामै पठाइएको हो।
पूर्वी र पश्चिम नवलपरासीका नारायणी नदीको गण्डक बाँध, त्रिवेणी लगायतका क्षेत्रमा फेला परेका ती शव र अंगहरू पोस्टमर्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
अस्पतालमा शवहरूको पोस्टमार्टम र डिएनए संकलन गरी व्यवस्थापनका लागि भेटिएकै जिल्लामा पठाइएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए।