जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि नै वर्षाको गतिविधि बढ्ने जनाएको छ।
सोमबार अपराह्न विशेष बुलेटिन जारी गर्दै महाशाखाले बुधबारदेखि वर्षाको गतिविधि बढ्ने र शुक्रबार (असोज ९) देखि आइतबार (असोज ११ गते) सम्म विभिन्न स्थानमा भारीदेखि धेरै भारी र अति भारीसम्मको वर्षा हुने जानकारी दिएको हो।
उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भूभाग आसपास रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र भई पश्चिमदेखि उत्तरपश्चिम दिशातिर सर्ने महाशाखाले जनाएको छ।
'यसको प्रभावले बुधबारबाट नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ,' महाशाखाले भनेको छ।
असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेस तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।
वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस कारण आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले धानबाली भित्र्याउन पनि सम्बन्धित कृषि विज्ञको सल्लाह लिन आग्रह गरेको छ।
उक्त मौसम प्रणालीको प्रभावले देशको हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र त्यसै अनुसार नियमित अद्यावधिक गर्दै जाने पनि जानकारी गराएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थाप प्राधिकरणले पनि सूचना जारी गरी सतर्क रहन आग्रह गरेको छ।

प्राधिकरणले यस अवधिमा अत्यन्त जरूरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
प्राधिकरणले सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवक लगायत सरोकारवालाहरूलाई आम सर्वसाधारणलाई सुसूचित गर्न र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।
जोखिम भएको राजमार्ग र सडकहरूमा डोजर, एक्स्काभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न पनि प्राधिकरणले आग्रह गरेको छ।
आकस्मिक बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरूलाई चनाखो रहन पनि प्राधिकरणले आग्रह गरेको छ।