यो वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चार जना पत्रकारले पाएका छन् ।
नेपाल टेलिभिजनमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारलाई पुरस्कार हस्तान्तरण गरेका हुन्।
गत वर्ष भदौ २३ गते भएको जेनजी बन्दोलनका क्रममा जोखिम मोलेर प्रत्यक्ष रिपोर्टिङ गरेका हिमालय टेलिभिजनका पत्रकार रामचन्द्र अर्याल, दिवाकर पोखरेल र कान्तिपुरका श्याम श्रेष्ठलाई सम्मान गरिएको हो।
कार्यक्रममा पर्यावरण संरक्षणका क्षेत्रमा जोखिमपूर्ण रिपोर्टिङ गरेका नेपाल टेलिभिजनका संवाददाता अंजिरसिंह विक र शिव शिलवाललाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले जोखिमपूर्ण रिपोर्टिङले सत्य तथ्य समाचार उजागर गर्ने भए पनि पत्रकारले आफ्नो सुरक्षाको ध्यान दिनुपर्ने बताए।
मन्त्री तिमिल्सिनाले राज्यले पत्रकारको सुरक्षाका लागि नीतिगत काम गरिरहेको बताए।
कार्यक्रममा हिमालय टेलिभिजनका पत्रकार रामचन्द्र अर्यालले पत्रकारिता क्षेत्र नै जोखिमपूर्ण रहेको बताउँदै जनताको हकाधिकार स्थापित गराउनका लागि सधैं जोखिम मोल्न पत्रकार तयार रहेको बताए।
वि.सं. २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परेका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो।
पुरस्कारको राशी एक लाख नगदसहित सम्मानपत्र रहेको छ।