काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने ल्याण्डफिल साइटमा लेदोसहित पहिरो खसेको छ।
त्यसले गर्दा फोहोर संकलन तथा ढुवानी प्रभावित भएको काठमाडौं महानगरको भनाइ छ।
निरन्तर भइरहेको वर्षाका कारण ल्याण्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेको महानगरले जनाएको छ। यसका कारण फोहोर ढुवानी तथा विसर्जनमा असहजता उत्पन्न भएको हो।
महानगरले केही समयका लागि फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भन्दै महानगरवासी, घरधनी तथा व्यवसायीलाई घर, पसल र परिसरबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल तथा खोला–नालामा नफाल्न आग्रह गरेको छ।
फोहोर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म फोहोर आफ्नै घर तथा परिसरभित्र सुरक्षित राख्न र कुहिने तथा नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्न महानगरले अनुरोध गरेको छ।
सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानी निकासमा समेत बाधा पुग्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले आग्रह गरेको छ।
वर्षा र ल्याण्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा नियमित गरिने महानगरले जनाएको छ।