काठमाडौं लगायत पूर्वी भूभागमा मौसम सुधार हुँदै गएको छ।
बुधबारदेखि लगातार भएको वर्षा आजदेखि पूर्वी भूभागबाट सुधार हुँदै आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शनिबार बिहान घाम देखिएको छ।
पूर्वी भूभागमा गएरातिदेखि नै मौसममा सुधार भएको महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिए।
‘पूर्वी भूभागमा सुधारको क्रम सुरु भइसकेको छ। त्यहाँ हिजो रातिदेखि नै वर्षा कम भएको छ। धेरैजसो स्थानमा अहिले बादल मात्र लागिरहेको र खासै पानी नपरेको उनले बताए,’ उनले भने।
यद्यपि काठमाडौंको मौसम पूर्ण रूपमा सफा भइहाल्ने भने होइन। केही समय पानी पर्ने, रोकिने र बीचमा घाम लाग्ने अवस्था हुन सक्ने उनी बताउँछन्।
काठमाडौंमा आज राति पानी पर्ने सम्भावना छ।
काठमाडौंमा मौसम पूर्ण रूपमा खुल्नेभन्दा वर्षा आउने–जाने अवस्था रहनेछ। आज दिउँसो केही समय घाम लाग्ने र बादल फाट्ने सम्भावना रहे पनि साँझ वा रातितिर फेरि पानी पर्न सक्छ। तर भारी वर्षाको सम्भावना छैन,’ उनले भने।
पूर्वी भूभागमा मौसम क्रमिक सुधार भए पनि पश्चिमी भूभागमा आज पनि पानी पर्ने सम्भावना छ।
महाशाखाले अद्यावधिक गरेको विवरणअनुसार पछिल्लो ६ घन्टामा डडेलधुरामा ५० मिलिमिटर वर्षा भएको छ। चौबीस घन्टामा सुदूरपश्चिम प्रदेशका भूभागमा भारीदेखि धेरै भारी वर्षा भएको छ।
पश्चिमी भूभागमा भोलि बिहानसम्म पानी पर्ने मौसमविद लामिछानेले बताएका छन्। दिउँसो वा साँझपछि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने उनले बताए।
पश्चिमी भूभागमा आज राति र भोलि बिहानसम्म वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। पश्चिममा भोलि दिउँसो वा साँझपछि मौसम सुधार हुँदै जाने अनुमान छ।
‘पश्चिमतिर आज राति र भोलि बिहानसम्म पानी पर्ने सम्भावना छ। भोलि दिउँसो वा साँझपछि भने बिस्तारै सुधार हुन्छ र ठूलो पानी पर्न छाड्छ,’ लामिछानेले भने।
महाशाखाले शनिबार बिहान अद्यावधिक गरेको बुलेटिन अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ|
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी तथा मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
पश्चिमी क्षेत्रमा भोलिसम्म वर्षाको सम्भावना रहेकाले त्यहाँ भने केही सावधानी अपनाउनुपर्ने मौसमविद लामिछानेले बताए।
भारततर्फ भने केही दिनअघि बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली बलियो हुँदै डिप्रेसनसम्म बनेर स्थलतर्फ प्रवेश गरेको थियो।
उक्त प्रणाली अहिले भारतको छत्तीसगढमाथि रहेको र उत्तर–उत्तरपश्चिमतर्फ सर्दै कमजोर हुने क्रममा छ।
भारतको मौसम विभागका अनुसार शुक्रबार साँझ उक्त प्रणाली छत्तीसगढको उत्तरतर्फ पुगेको थियो र शनिबारसम्म दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ सर्दै क्रमशः न्यूनचापीय क्षेत्रमा कमजोर हुने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणाली आगामी १२ घण्टामा क्रमशः कमजोर भई न्यून चापीय क्षेत्रमा परिणत हुने जनाएको छ।