भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक तथा पुलमा भएको क्षतिले आवतजावत प्रभावित छ।
बाढी आएको महिना दिन बित्दा त्रिशूलीमाथिका पुल कहीँ खण्डहर छन् भने कतै पुलको नामनिसान छैन।
त्रिशुली वारपार गर्न वैकल्पिक सडक प्रयोग गर्नुपर्ने, घन्टौं पालो पर्खेर तुइनको यात्रा गर्नुपर्ने बाध्यता बाढी प्रभावित क्षेत्रका स्थानीयलाई छ।
बाढी आएको एक महिना पुग्न लाग्दा पनि सडक सम्पर्क सहज हुन सकेको छैन।
बाढीबाट ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको छ। त्यसमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने ४ वटा पुलमा आंशिक क्षति पुगेको छ।
पूर्ण रूपमा बगेका पुलमध्ये नुवाकोटमा १४, रसुवामा १३ र धादिङमा ५ वटा छन्।
बाँकी एउटा गोरखामा परेको छ। मोटरेबल पुलतर्फ ९ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
झोलुङ्गे पुलमा पनि १ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बाढी प्रभावित क्षेत्रमा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको सरकारको प्रारम्भिक विवरण छ। यसले नदीपारिका बस्तीबीचको पैदल आवतजावतसमेत कठिन बनाएको छ।
पुल र सडक बगेपछि स्थानीयको समस्या यातायातमा मात्रै सीमित छैन।
खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने काम, विद्यार्थीको विद्यालय आवतजावत प्रभावित भएको छ।
अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन्।
तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले सहज आवतजावतका लागि अझै वैकल्पिक बाटो र अस्थायी संरचनामै निर्भर हुनुपर्ने अवस्था छ।
तस्बिरहरूः



















तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी