निरन्तरको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा पाँच वटा घर बगाएको छ।
थप दुई दर्जनभन्दा बढी घर जोखिममा परेका छन्।
पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार जोखिममा रहेका घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
कालीगण्डकीमा पानीको बहाव बढ्दै गएपछि नदी बस्ती नजिकै पुगेको उनले बताए।
‘पर्वतमा अवस्था राम्रो छैन। पाँच वटा घर बगेका छन्, दुई दर्जन घर जोखिममा छन्,’ क्षेत्रीले भने, ‘कालीगण्डकी नदीले सहस्रधारामा सडक पनि कटान गरिरहेको छ। यातायात अवरुद्ध छ।’
कालीगण्डकी नदीको कटानका कारण पर्वत र बागलुङ जोड्ने सडक अवरुद्ध भएको छ।
सडकको केही भाग नदीले कटान गरेपछि दुई जिल्लाबीचको यातायात प्रभावित भएको हो।
यस्तै, बाढीले मुस्ताङ जाने सडकखण्डअन्तर्गत पोखरेबगरको पुलमा समेत क्षति पुर्याएको छ। पुलको एउटा भाग बगिसकेको र बाँकी संरचनासमेत जोखिममा रहेको क्षेत्रीले बताए।
लगातारको वर्षाका कारण कालीगण्डकीको जलस्तर बढिरहेको र नदी किनारका बस्ती तथा सडक संरचनामा जोखिम बढ्दै गएको स्थानीय प्रशासनले जनाएको छ।