प्रहरीले घरबाटै नियन्त्रणमा लिएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा छुटेका छन्।
उनलाई १० घन्टापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिवारको जिम्मामा लगाएको एसपी रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीले आइतबार बिहान ३ बजे महाराजगन्जस्थित निवासबाटै राणालाई नियन्त्रणमा लिएको थियो।
लगत्तै प्रहरीले उनलाई टेकु स्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको थियो।
त्यहाँ उनलाई कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको थियो। १० घन्टासम्म त्यहाँ राखेर प्रहरीले उनलाई 'सुरक्षित स्थानमा पठाएको' बताएको छ।
'उहाँले उपयुक्त ठानेको सुरक्षित ठाउँमा हामीले लगेका छौं,' एसएसपी सन्तोष खड्काले सेतोपाटीसँग भने, 'सुरक्षा पनि बढाएका छौं।'
यद्यपि प्रहरीले उनलाई कुन स्थानमा राखिएको भन्ने खुलाएको छैन। प्रहरीले सुरक्षा खतरा भएका कारण उनलाई पक्राउ गरेको बताएको छ। तर के खतरा थियो भन्ने जानकारी दिएको छैन।