चार दिनको अवधिमा विभिन्न जिल्लाका १८६ वटा स्टेशनहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागले अन्दमान सागरमा विकसित हुँदै बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको असरले चार दिनको अवधिमा १८६ वटा स्टेसनहरूमा १०० देखि १५० मिलिमिटर वर्षा मापन भएको जनाएको छ।
२३ सेप्टेम्बर बिहान ८:४५ देखि २७ सेप्टेम्बर बिहान ८:४५ बजे सम्म चार दिनको अवधीमा सबैभन्दा बढी पानी नवलपरासीको डेढ गाउँ मापन केन्द्रमा परेको छ।
त्यहाँ ५४४.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
दोस्रो धेरै पानी कास्कीको पन्चासेमा परेको छ।
पन्चासे मापन केन्द्रमा ५००.२ मिलिमिटर पानी परेको छ।
त्यस्तै तनहुँको अतरउलीटारमा ४७२ मिलिमिटर, पाल्पाको तानसेनमा ४५८ मिलिमिटर, स्याङ्जाको पन्चमुलमा ४३१.८ मिलिमिटर, म्याग्दीको दरबाङमा ३९७.४ मिलिमिटर, चितवनको माडी कल्याणपुरमा ३९६ मिलिमिटर, कपिलवस्तुको मैनारमा ३८८.६ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा ३६६.६ मिलिमिटर, पूर्वी नवलपरासीको देउराली नवलपुरमा ३६५.६ मिलिमिटर वर्षा मापन भएको छ।
विभागका अनुसार ५५ वटा मापन केन्द्रमा १०० देखि १५० मिलिमिटर वर्षा भएको छ।
त्यस्तै ४८ वटा मापन केन्द्रमा १५० देखि २०० मिलिमिटर वर्षा भएको छ।
३७ वटा मापन केन्द्रमा २०० देखि २५० मिलिमिटर वर्षा भएको छ।
१९ वटा मापन केन्द्रमा २५० देखि ३०० मिलिमिटर वर्षा भएको छ।
१६ वटा मापन केन्द्रमा ३०० देखि ३५० मिलिमिटर वर्षा भएको छ।
६ वटा मापन केन्द्रमा ३५० देखि ४०० मिलिमिटर वर्षा भएको छ।
एउटा मापन केन्द्रमा ४०० देखि ४५० मिलिमिटर वर्षा भएको छ भने दुइटा मापन केन्द्रमा ४५० देखि ५०० मिलिमिटर र दुइटा मापन केन्द्रमा ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
भारतमा रहेको न्यूनचापीय प्रणालीको प्रभावले ४ दिनदेखि लगातार भएको वर्षा आइतबारदेखि मत्थर भएको छ।
सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने आइतबार बेलुकी पनि पानी परेको थियो।
मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि देशैभरि मौसम सुधार हुँदै जाने जनाएको छ।