पर्सामा चोरी गर्न घरभित्र प्रवेश गरेका तीन जनाले देखेपछि महिलाको हत्या गरेको प्रहरीले जनाएको छ।
धोबिनी गाउँपालिका–५ की ६२ वर्षीया लखरजिया देवीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय चन्दनकुमार पटेल, १८ वर्षीय घिठरिय भन्ने राज कपुर बैठा र १८ वर्षीय रामु पासवानलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी चक्रबहादुर मल्लका अनुसार असोज ५ गते बिहान करिब ३ बजे उनीहरू लखरजिया देवीको घरको पछाडिको पर्खाल चढेर माथिल्लो तलाको झ्यालबाट घरभित्र प्रवेश गरेका थिए।
उनीहरूले स्टिलको दराज फोडेर त्यहाँ रहेको पैसा तथा गरगहना चोरी गरेपछि अर्को कोठामा रहेको टिनको बाकसको ताला फुटाउँदै थिए।
त्यसक्रममा तल्लो तलामा सुतिरहेकी लखरजिया देवीले माथिल्लो तलाबाट तोडफोडको आवाज सुनेपछि हेर्न जाँदा तीनै जनालाई देखेकी थिइन्।
त्यसपछि उनीहरूले लखरजियाको हत्या गरी घरमा रहेका गरगहना र नगदसमेत लिएर फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले बताए।
घटनापछि प्रहरीले तीनै जनालाई पक्राउ गरी पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने चुरा दुई थान, चोरीको रकममध्ये चन्दनकुमारले तिरेको तीन हजार रुपैयाँ र राज कपुर बैठाको साथबाट ७५० रुपैयाँ बरामद गरेको जनाएको छ। घटनास्थलबाट गाडीको स्प्रिङ पत्ता, प्लास र चक्कुसमेत बरामद भएको छ।