खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका खाद्य अनुसन्धान अधिकृत सहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकृत अर्जुन अधिकारी सहित ४ जना विरूद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सीमा नाकामा रोकिएका सामान आयात गर्न सहजीकरण गर्ने बहानामा सेवाग्राहीसँग घुस मागेको पुष्टि भएपछि ४ जना विरूद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
अधिकृत अधिकारी, बसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठविरूद्ध मुद्दा दायर भएको हो।
मुख्य अभियुक्त अधिकारीले ह्वाट्समार्फत् कुराकानी गरी विभिन्न कम्पनी, उद्योग तथा भन्सार एजेन्टहरूलाई खाद्य आयात अनुमति दिन सहजीकरण गरेबापत घुस रकम असुलेका भेटिएको अख्तियारको दाबी छ।
उनले आफ्नो र अन्य व्यक्तिका बैंक खाता तथा क्युआर कोड प्रयोग गरी विभिन्न व्यक्तिमार्फत २८ लाख २० हजार ३ सय ७५ रुपैयाँ घुस रकम संकलन गरेको अनुसन्धानबाट खुलेको बताएको छ।
अधिकृत अधिकारीको बैंक खातामा जम्मा भएको बराबर कुल बिगो माग दाबी गरिएको छ भने अरूको जनही फरक फरक बिगोमाग दाबी गरिएको छ।