मनाङ सदरमुकाम चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव खोल्न प्रशासनले ब्लास्ट गर्ने तयारी थालेको छ।
ब्लास्टका लागि मंगलबारदेखि दुईवटा डोजर परिचालन गरी पहिरोको लेदो र ढुंगा पन्छाउन थालिएको छ।
बाढी र पहिरोको जोखिम बढेपछि चामेका स्थानीय बासिन्दाले शनिबार रातिदेखि नै घर छाड्न थालेका थिए। केही स्थानीयले रात जंगलमा बिताएका थिए।
त्यसको भोलिपल्ट आइतबार दिउँसो चामे हुँदै मर्स्याङ्दी नदीमा मिसिने ठाडो खोलामा आएको बाढी र पहिरोसँगै ठूलो मात्रामा लेदो र ढुंगा खसेपछि मस्र्याङ्दी नदी थुनिएको थियो। त्यसपछि आइतबार रातभरि पनि पहिरो खस्ने क्रम जारी रहेको थियो।
असोज ९ देखि ११ गतेसम्म लगातार परेको वर्षाले ठाडो खोलामा बाढी र पहिरो ल्याएको थियो। त्यसबाट चामेका केही घर तथा होटलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
पहिरोका कारण मर्स्याङ्दी नदीको बहाव रोकिएपछि चामे क्षेत्रमा पानी जमेर ताल बनेको छ। तालको पानी बढेपछि मोटरेबल पुलसहित केही होटल र घर डुबानमा परेका छन्।
नदीको बहाव केही खुले पनि पानीको निकास अझै सहज हुन सकेको छैन। त्यसैले प्रशासनले पहिरो पन्छाएर नदीको बहाव थप सहज बनाउने र आवश्यक परे ब्लास्ट गरेर थुनिएको भाग खोल्ने तयारी गरेको हो।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ब्लास्ट गर्न पहिरोभित्र रहेका ढुंगामा प्वाल पार्नुपर्ने हुन्छ। त्यसका लागि मंगलबारदेखि दुईवटा डोजरले लेदो र ढुंगा पन्छाइरहेका छन्।
‘ब्लास्ट गर्न लेदोभित्र ढुंगामा प्वाल पार्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘डोजर लगाएर लेदो पन्छाउँदैछौं। ब्लास्ट गर्ने तयारीस्वरूप अहिले दुईवटा डोजरले पहिरोको लेदो हटाइरहेका छन्।’
प्रशासनले पहिरोको अवस्था र नदीको बहावको निगरानी गर्दै ब्लास्टका लागि उपयुक्त स्थान पहिचान गरिरहेको जनाएको छ।