अविरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्ण रूपमा ठप्प रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी वर्षाले सडकका विभिन्न खण्डमा क्षति पुर्याएपछि यातायात सेवा अवरूद्ध हुन पुगेको थियो।
असोज महिनाको दोस्रो साता परेको वर्षाका कारण कान्ति लोकपथका विभिन्न स्थानमा ठूला पहिरो गएका थिए।
पहिरोले सडक अवरूद्ध हुँदा काठमाडौं र हेटौँडा जोड्ने यो छोटो मार्ग भएर यात्रा गर्ने यात्रुहरू र सवारी साधनहरू प्रत्यक्ष प्रभावित बनेका थिए।
सडक अवरूद्ध भएलगत्तै सडक डिभिजन कार्यालयले प्राविधिक टोली र उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरू गरेको थियो।
लामो समयको प्रयासपछि पहिरो पन्छाई सडकलाई यातायात सञ्चालन योग्य बनाइएको हो।
हालका लागि उक्त सडक खण्डमा एकतर्फी सवारी आवागमन खुला गरिएको छ।
यद्यपि, निरन्तरको वर्षाका कारण सडकका विभिन्न भाग अझै पनि जोखिमपूर्ण अवस्थामा रहेकाले यात्रा गर्दा उच्च सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।
सडकको पूर्ण क्षमतामा दुईतर्फी यातायात सञ्चालनका लागि भने थप मर्मत सम्भारको काम भइरहेको छ। –न्युज एजेन्सी नेपाल