जाजरकोटमा ससुराको हत्या गरेको आरोपमा बुहारी दुई महिना पछि पक्राउ परेकी छन्।
जिल्लाको जुनीचाँदे गाउँपालिका –५ पाँगाका ७५ वर्षीय गंगाराम शाहीको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको थियो।
साउन ११ गते बेलुकी ८ बजेतिर बाँया पट्टिको घाँटीमा धारिलो खुर्पा प्रहार गरी उनको हत्या गरेको अवस्थामा सिढीमा शव फेला परेको थियो।
घटना अनुसन्धानका क्रममा माइली बुहारी शर्मिला शाहीले लगाएको कपडामा रगतका धब्बा देखिएको थियो। डिएनए परीक्षण गर्दा त्यो रगत जनावरको नभई मानिसको भएको पुष्टि भएको थियो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार प्रहरीले सुरुमै शर्मिला माथि आशंका गरेको थियो।
‘तर, दुई महिना लामो अनुसन्धान बाट गंगारामको हत्या बुहारी शर्मिलाले नै धारिलो हतियार खुर्पा प्रहार गरी गरेको खुल्न आएको हो,’ खड्काले भने।
प्रहरी अधिकारीका अनुसार गंगारामको हत्या भएको बेलुका घरमा ससुरा बुहारी मात्रै थिए। शर्मिलाका श्रीमान काम विशेषले घर बाहिर थिए।
‘त्यस क्रममा ससुराले बुहारीमाथि बदनियत राखेर यौन दुर्व्यवहारको प्रयास गरेपछि बुहारीले आबेगमा आएर घरमै भएको धारिलो हतियार प्रहार गरी ससुराको हत्या गरेको तथ्य प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ,’ प्रहरी उच्च स्रोतले भन्यो ‘ त्यसअघि छोरा बिदेशमा छँदा पनि पटक / पटक दुर्व्यवहारका प्रयासहरु भएको भन्ने बयान शर्मिलाले प्रारम्भिक बयान बाट खुल्न आएको छ।’
गंगारामका जेठा छोरा राजकुमार शाहीले बुहारी शर्मिला बिरुद्ध असोज ७ गते प्रहरीमा कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दिएका थिए।
त्यसको दोस्रो अर्थात असोज ८ गते प्रहरीले शर्मिलालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।
शर्मिलालाई १० दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत दैलेखले मंगलबार अनुमति प्रदान गरेको प्रहरी निरीक्षक खड्काले बताए ।
गंगाराम हत्या घटना बारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।